अम्बरध्वज खाती
(भङेरी मार्ग, भङ्गाला, चपली २ बु.नि. नपा)
सहरको पुछारतिर
सडकको दुवै किनारमा छित्रेका
सस्ता मान्छेका सस्ता बस्तीहरु
यहीँ बस्तीमा छ एउटा जीर्ण
आयु सकिएर भत्कन तयार एउटा पाटी—
धुवाँ–धुलो र फोहरले छोपेको सडक
पान, पान–पराग र खैनीका थुकले कुरुप भित्ताहरु
पिसाब गन्हाएका कुनाहरु
दिसा कुहिएको आँगन ।
१
चारप्रहर रात यहीँ पौवामा काटेर
यहीँबाट निस्कन्छ सधैँ यो केटो यो बाटोमा
आफूभन्दा ठुलो बोरा लतार्दै काँधले—
ओठमा सुस्केरा छ
सुस्केरामा एउटा गीत
‘सुन्दर नेपाल शान्त–विशाल ।’
२
अलिकति पर
यो बाटोको नजिकै
पुर्खाले चिनेको चौपारी हो यो
आजभोलि केटाकेटी पढ्ने स्कुल भा’छ
यसैको प्राङ्गणमा सधैँ सबै बिहान
एकत्रित केटाकेटीहरुले प्रार्थना गर्थे
प्रार्थनामा, देश गाउँथे
नबुझे पनि उसले
लय र स्वर पाएको यो गीत
मस्तिष्कमा टाँस्थ्यो
सम्झनामा झुन्डिन्थ्यो
त्यहीँ गीत हो यो
उसको सुस्केरामा बज्थ्यो ।
३
उसलाई मन परेको गीत हो यो
सुन्न मात्रै भए पनि
सधैँ ऊ यहाँ आउँथ्यो
यसैलाई
जहाँ पुगोस् गाउँदै पुग्थ्यो ।
४
प्रार्थना सकेपछि
विद्यार्थीहरु किताब र कापी खोल्थे
लेख्नपढ्न थाल्थे
कतिले दुना घोक्थे
ऊ भने, अब एक्लै
यहीँ गीत सुस्केरामा गाउँदै
आफ्नो बाटो लाग्थ्यो—
सहरतिर सोझारिन्छ ।
५
पानीका रित्ता प्लास्टिकका बोतलहरु,
होटेलले फालेका मासु लुछेका हाड,
जुठा भात र जुठा भाँडाहरु
तरकारी पसलेले फालेका कुहिएका सागका मुठाहरु
रक्सी र जाँडका टिनका कुच्चिएका भाँडाहरु,
र गुहुमुतमा मुछिएका थाङ्नाका थुप्राहरु
जहाँ हुन्थे सधैँ त्यो त्यहाँ पुग्छ
त्यहीँ डङ्गुरमाथि बसेर
दुवै हातले फोहर खोतल्छ
जब जब खोतल्छ फोहर
उसको ओठमा सुस्केराको रिल फुक्छ
सुस्केराको रिलमा यहीँ गीत हो बार बार बज्छ
बार बार दोहरिन्छ ।
६
जब जब सुन्छ देशले यो ‘आफ्नो गीत हो’
गाइरहेको छ कठै उसको सुस्केराले
देश कमलो भएर
आँसुमा पग्लन्छ
रोई रोई सकिन्छ ।


