प्रभाती किरण
अनेक कष्ट गाथमा, अनेक शोक माथमा
स्वदेश नित्य सम्झँदै, प्रभातमा र रातमा ।
न दिन्छ सुत्न शान्त भै, सताउँदो छ सम्झना
सकिन्न भुल्न क्यै गरी, स्वदेशकै छ कल्पना ।
हुँदै छ देह थिल्थिलो, खपेर त्रास त्राटन
मुमाबुबासँगै प्रिया बिछोडमा कुँडी मन ।
प्रवास बग्छ नेत्रमा, न स्वाभिमान बाँच्दछ
दिएर चोट छट्पटी, अनन्त सान मास्दछ ।
स्वदेश भन्छ पौरखी, युवा जमात हात द्यौ
चुकेर हुन्न कर्ममा, विकास गर्न साथ द्यौ ।
दिँदैन काम दामले, प्रवास बन्छ घातक
अँगाल्छ हर्ष प्रेमले, र गर्छ देश स्वागत ।
खनेर खोरिया स्वयम्, निचोर्नुपर्छ आँचल
बजार्नुपर्छ पाखुरी, सिँगार्नुपर्छ भूतल ।
अवश्य खुल्छ भोलिको, अकास फाट्छ बादल
हटेर जान्छ काँचुली, रमेर नाच्छ मादल ।
हिमाल हाँस्छ नेत्रमा, गुराँस फुल्छ केशमा
पहाड उच्च माथमा, छ प्राण नै मधेसमा ।
झुलेर नाच्छ कोइली, वसन्त बाग सुन्दर
समस्त विश्व भेटिने, छ देश फर्क है घर ।