• चन्द्रबहादुर लामा

सडकको किनारबाट सुरू हुन्छ
उसको दिनचर्या
झुलुक्क एक सपना चिप्लिएको जस्तो
निद्राबाट चिसिएको शरीर लिएर
पिठ्युँमा बोकेर
एक भारी काँचो दिन
घाम उदाउनुअघि नै ऊ
स्वागतमा पर्खी बसेको हुन्छ
सडकमा पसारेर आँखा

सडकका हरेक आँखामा
आँखा जुधाएर नबोलेरै
गरिरहेको हुन्छ उसले
आफ्नो सपनाको मोलमोलाइ
मोलमोलाइमा छाड्दैन ऊ रू. एक पनि
मानौँ रू. एकमा उसको
अड्केको छ सबथोक
जीवनको आश र सास

र,
आफ्नै तराजुमा नापिरहन्छ
जीवनको हिसाब
दिनहुँ नयाँ वजनमा
अनि सडकभरि साटिरहन्छ
आशाका झिना टुक्राहरु
पचास पैसाका पोलिथिन झोलामा

यसरी बाँचेको छ
सडकमा एक अंश आयु
चालेर बाटोका हरेक धुलो र धुँवा
जुन थिग्रिन्छ ऊभित्रै उसको सपना थिचेर
सायद हराउँदो हो ऊ कुनै दिन
उही अपुरो सपना लिएर
जस्तो समाएर हावा बादल
हराएजस्तो आकाशको अनन्त गहिराइमा ।
तैपनि,
फेरि उठ्छ ऊ अर्को दिन
उही मोलमोलाइको तयारीमा
बोकेर भोलिको एक भारी आशा
सडकसँगै बाँच्न तयार भएर ।

Facebook Comments Box

Similar Posts