भवानी खतिवडा
(तीनकुने, काठमाडौँ)
छन्दः अनुष्टुप्
गैँडाले बम बोक्तैनन् बोक्तैनन् बाघ बन्दुक
बोक्तैनन् सिंह अर्नाले खुँडा पेस्तोल–बारूद
कित्ताकाट गरी हात्ती लिँदैनन् भूमिको हक
छ कठै मनुवा जाति जो लुट्छ नमरेतक ।
चाहेमा घाम एक्लैले सातै सिन्धु सुकाउँछन्
महा–आकाशले चाहे सिङ्गै विश्व लुकाउँछन्
चिताए बाघले एक्लै मार्छन् हज्जार जीवन
परन्तु तिनमा बेग्लै छ निष्ठा अनुशासन ।
बिर्सी सङ्गतिको बाटो भाँडिएको छ मानिस
कुण्ठाको पङ्कमा आफै गाडिएको छ मानिस
स्वयंबाट स्वयंसङ्ग बाँडिएको छ मानिस
चैतन्य–चेतनाबाटै टाढिएको छ मानिस ।
छ अरु पशु प्राणीमा ज्यूनुको–चल्नुको लय
राखी गोदाम माछाले गर्दैनन् धन–सञ्चय
चराका नाममा पुर्जा जग्गाको छैन तैपनि
मरे ती भोकले भन्ने सुनिँदैन कतै पनि ।
बाघले बाघकै छाला उतार्ला हुन्न कल्पना
मिर्गले मिर्गकै घाँटी निमोठ्ला हुन्न कल्पना
मार्दै छन् तर मान्छेले मान्छेलाई धमाधम
छन् कुरा उसकै ठूला श्रेष्ठ रे ऊ विवेकमा ।
छ मान्छे अति तृष्णामै अगस्ति नै पसेसरि
खाओस् जे जति नै किन्तु अघाउन्न कसैगरी
गोजी हुँदैन कात्रामा मुर्दाले लान्न सम्पति
बुझ्दैन किन खै मान्छे माटै हो उसको गति ।
Facebook Comments Box


