सुधीर ख्वबि
रूखहरु उदास देखिन्छन्
पातहरुको मुहार चाउरिएपछि
हाँगाहरु मक्किन थालेझैँ देखिन्छन्
अवसानका निम्ति तयारजस्तै ।
रूखहरुको बस्ती
आधुनिकताको डढेलोले
खानु खाइसकियो
गाउँठाउँमा
सहरबजारमा
कङ्क्रिट मन मनहरुले
प्रभुत्व जमाइसकेका छन्
र हामी
धूलोको पर्खाल बनाई
धुवाँको छानो सजाई
आफ्नो दैनिकी प्रदूषण मुक्तिको
भ्रममा मक्ख हुने गरेका छौँ ।
त्यसैले अचेल
फूलहरु निर्धक्क फुल्न मान्दिनन्
बादल शीतल बर्सिन गाह्रो मान्छ
इन्द्रेणी खुसीसाथ झुल्किन चाहँदैन,
प्रदूषित मनमस्तिष्कहरुसामु ।
अहिंसा हिंसाको सामु निरीह छ
प्रतिस्पर्धामा प्रतिशोध मिसिन थालेको छ
विचारको मर्म मरिसकेको छ
नैतिकताको धर्म दुर्घटनाग्रस्त सधैँ
अहो !
कस्तरी ध्वस्त भइसकेको रहेछ
हाम्रो मनको, भावनाको,
विचारको, विवेकको
अनि चिन्तनको पर्यावरण पनि
कसले सच्याउँछ त यो पर्यावरण ?
प्रश्न यो प्रश्न होइन
जिम्मेवारीको बोध नै समाधानको मार्ग हो
प्रकृतिको पर्यावरण
हाम्रो मनको पर्यावरण
दुरूस्त गर्ने काम हाम्रै त हो नि
होइन र … ?


