मिथिलेश ‘आदित्य’

उनीहरु चाहन्छन् –
म अनावश्यक कामका काँडेदार लहराहरुमा अल्झिरहूँ,
जसरी कुनै बिरूवा आफ्नै जराको जालमा फसेर
आकाशतिर हेर्न बिर्सिन्छ ।

उनीहरु चाहन्छन् –
म उनीहरुका अगाडि होचो बनेर बसिरहूँ,
जसरी कुनै विशाल पर्वतको छायामा
सानो ढुङ्गाको अस्तित्व हराउँछ ।

उनीहरु चाहन्छन् –
मेरो मेधा र पहिचान
गुमनाम धुवाँझैँ हराओस्,
र म यो कोलाहलपूर्ण संसारमा
त्यो रूखझैँ उभिरहूँ –
जसको आफ्नो आकाश हुँदैन,
जसका हाँगामा कुनै चराले गीत गाउँदैनन् ।

उनीहरु चाहन्छन् –
मेरो इमानदारीको बग्ने धार
सुक्खा नदीमा परिणत होस्,
तप्त मरूभूमिमा हराओस्,
र म आफैभित्र खुम्चिऊँ –
आफ्नै हिम्मत र साहसका बाबजुद,
जसरी आँधीको एउटा झोक्कामा
काँचो हाँगा भाँचिन्छ ।

उनीहरु प्रायः चाहन्छन् –
मेरा सङ्कल्पहरुको अन्त्य,
मेरो चेतनाको हार ।

तर –
मैले बुझेको छु –
अरुका बाटो उज्यालो पार्दै जाँदा,
नकारात्मकता त्यो कालो धुवाँझैँ हो,
जसबाट जोगिनु नै
स्वत्वको साँचो स्वतन्त्रता हो ।

मैले सिकेको छु –
आफ्नो राष्ट्रको मान बढाउन
त्यो सूर्यलाई आत्मसात् गर्नु हो –
जो प्रत्येक अँध्यारोलाई चिर्दै
निश्चित समयमा उदाउँछ ।

र आफ्नो पहिचान गढ्नु
त्यो अडिग दीपझैँ हुनु हो –
जो आँधीसँग जुधेर पनि
बलिरहन छोड्दैन ।

त्यसैले –
अब म उभिएको छु
उनीहरुका हरेक
सङ्कीर्ण चाहनाहरुका विरूद्ध,
एउटा महावृक्षझैँ –
जसका जरा
धरतीको गहिराइमा गाडिएका छन्,
र जसका हाँगाहरु
सिधै आकाशसँग संवाद गर्छन् ।

म न होचो बन्छु,
न गुमनाम रहन्छु –
म आफै बन्छु
आफ्ना सङ्घर्षहरुको प्रकाश,
र आफ्नो व्यक्तित्वको
एउटा अडिग प्रमाण ।

Facebook Comments Box

Similar Posts