सागर फुयाल(काठमाडौँ)
ऊ जीवनका साना-ठूला हरेक मोडमा
सागरको किनारमा जान्छ
र साट्छ सागरसँग
तिनै मोडले ल्याएका
कथा, व्यथा र सन्नाटाहरू।
कहिले पुग्छ ऊ सागर छेउ
घुम्तीहरूले बनाएको घाइते मुटु बोकेर
अनि सागर, एउटा कुशल नर्सले जस्तै
ड्रेसिङ गरिदिन्छ त्यो मुटुको
शीतल हावा छरेर
लहरमा धुन भरेर
सागर भइकन पनि एक्लो हुनुको कथा सुनाउँदै।
कहिलेकाहीँ क्याक्टसका फूलजस्तै
खुसीका दुर्लभ थुङ्गाहरू भेटिँदा मोडहरूमा
अधीर भई ऊ पुग्छ किनारामा
अनि, आत्मीय साथी बनेर
नाच्न थाल्छ सागर
छाल बनेर
छुन खोज्छ उसलाई
सर्दै किनारतिर।
बारम्बार तिनै मोडमा, ठेस लाग्न आउँछन्
बिझाउने दृश्यहरू, बल्झाउने यादहरू
कर्कश आवाजहरू
र बेहोसीमै पुग्छ ऊ सागर छेउ
अशान्त मनको डुङ्गा चढेर
निराशाको बादल ओढेर
आक्रोशको ज्वाला बोकेर
अनि सागर
सधैँजस्तै ऐक्यबद्धता जनाउँछ ऊसँग
आतङ्क र विनाशको नाङ्गो रूप देखाउँदै
ज्वारभाटा बनेर
र भन्छ थकित स्वरमा—
ज्वारभाटाको पनि सीमा छ
विनाशको पनि सीमा छ
तिम्रो रिसको पनि सीमा छ
निराशाको पनि सीमा छ
एकछिनका न हुन् आवेग, पीडाहरू
यी आउँछन्, जान्छन्।
मान्छे मान्छेजस्तो नदेखेपछि
फूलहरूले रङ्ग फेरेपछि
आदर्शका बिगुल फुक्दै समाजले
कृतिमता र आडम्बरको खोल ओढेपछि
भीडले उज्यालो भविष्यको लागि भन्दै
रेखाहरू कोरेपछि
ऊ भावशून्य भएर किनार पुग्छ
अनि जीवनको शाश्वत मूल्य सम्झाउन उसलाई
सागरले,
स्थिरता र मौनताको विराट स्वरूप धारण गर्छ
र सङ्केत गर्छ उसलाई—
संसार हो यो
यहाँ, न मेरो न तिम्रो नै चल्छ केही वश
हेर, यति विशाल छु
तर आफैँ भित्र लीन छु, महाशून्यतामा बिलीन छु
अबेर नगर तिमी!
खोज, हेर अनि बुझ
तिमी भित्रै हराइरहेको
सनातन शून्यता, अमृतमय मौनता।
उसको हरेक आरोह-अवरोहको
साक्षी हो सागर
बिताएको छ यसैगरी उसले
जीवनका स्वर्णिम पलहरू त्यही किनारमा
देख्छ हरेक बिहान, सागरबाट जन्मिरहेको घाम
हरेक साँझ सागरमै त्यसको समाधि
अहोभावमा डुब्छ ऊ
कल्पनातीत लाग्छन् उसलाई
परिधि र गहिराइका सीमाहरू, सागरको
मौन संवाद गर्छ आफैँसित
ओहो! असीम सागर!
तर, के असीम नै हो त, सागर?
त्यो आर्द्रता अनि चर्को घाममा पनि
पिउन सक्दैन ऊ
एकै अँजुली पानी सागरको
ऊ हरेक पटक, सागरसँगको भेटपछि पनि
तृप्त हुन नसकेको
प्यासको एउटा गह्रुङ्गो भारी बोकेर भौँतारिन्छ
पानीको खोजीमा!
आखिरमा,
असीम रहेनछ सागर पनि!


