मनोज थापा ‘पागल भिक्षुक’
(जानकी ८, कैलाली)

छकालै स्वप्नहत्या गरेर मेरी आमा
अर्को नौलो जिन्दगीको सुरूआत गर्दै
मैलो धोतीलाई आँसुले धुन्छिन्,
जुन बेला हिमाली चित्कार सूर्योदयसँगै
पहाडमा क्रन्दनले फाल हालेर
हरपल रूवाबासी गरिरहन्छ फाँटहरुमा,
उकालीओरालीका बटुवा दोबाटोमै ढल्छन्
सुक्खा फाँटका अन्नबाली जलविन्दुले गल्छन्
र लाटाबस्तीहरु मौनतामै बहिरो बन्छन् ।
देशको परिवेश यसरी
आफै जीर्ण बन्दै छ भने
मेरी आमा कसरी मुस्कुराउलिन् ?

जोसँग आफ्नो अवशेष छैन
पुख्र्यौली चिनोको शेष छैन ।
रोएको होइन आफ्नो पीडाले
झस्किन्न अँध्यारो कुनाबाट तर
चिहानघारीबाट सहिदहरु छेलो हान्दै छन् ।
यस त्रासदी सन्नाटामा/सेरोफेरोमा
को रोक्ला मेरो धड्कनको गतिलाई ?
तिमीलाई बाधा हुने भए रात्रिकालमा
कुपोषित बस्तीका लालाबाला ननाच्लान्
बरू आमा एकलासमा रोइरहलिन्,
वा एक्लै ब्युँझनुपर्ने भए
म अनुपस्थित रहुँला सदाका लागि ।
वा तिमी पनि मसँगै हाँस्छौ भने
म कसरी मौन बसुँला प्रिय देश !
तर तिमी बाँचिदेऊ प्रिय देश !
तिमै्र पर्खाइमा छ यो परिवेश
तिम्रै आशामा छ आमाको जीर्ण भेष ।

Facebook Comments Box

Similar Posts