कृष्ण प्रधान
(सिलगढी, भारत)

पहिलो दृश्य
स्थान – एस.आर. सप ।
(कमानबाट आधा बेला छुट्टी मागेर महिनावारी रासिन थाप्ने हुद्दामा रहेकाहरुमध्ये सबैभन्दा जेठी र अनुभवी साइँलीदि’को नेतृत्वमा मरिचफूल, कमलछी, धुरपाती, गमसफूल, कुशनारायण प्रधान, मिनास, पञ्चमती, आइतराज, धनलछी, रनमाया, हस्ते, पञ्चबहादुर, जिरनफूल, धनसरी, जसमाया, सञ्चरानी, माइतरानी, तेजहाङ, विपाते, सुनकुमार, च्याप्टे, टुकबीर, छोम्ले, होम्बे, सिट्टे, जुल्फे, फुर्कमान, रिट्ठे, फिस्टे, तस्बिरे, टुकुने, छलिमाया, पञ्चमाया, रसफूल, चुर्सी, गम्भीरमाया, न्याउरी, सूर्यमति, जुन्किरी, टिकमाया, च्याउँकीहरु कमानको बाटोमा दिल्लगी गर्दै बाह्र गोलाइ एम.आर. सपअघि आइपुग्छन् । सोसियल डिस्टेन्सको ख्यालै नराखी कोही पानी पिउन थाल्छन् कोही सुर्ती माड्न थाल्छन्भने कोही आआफ्नो मोबाइल खेलाउन थाल्छन् ।)

साइँलीदि’ (भिडमध्येबाट जुरूक्कै उठेर बघिनीजस्तो गर्जिंदै) हेर…हेर…के साह्रो अटेरी हौ !एई तरूनी–तन्नेरी हो, … तिमेरु मान्छेको भाँडो हो कि के के ठाँडो हो हँ । हन तिमेरु किन एकै ठाउँ गुजुल्टिएर बसेका हँ पिशाचहरु ! सोसल धिन्ताङ भनेको यही हो ?
जुल्फे (गल्ती सुधार्दै) साइँलीदि’ सोसियस डिस्टेन्स हौ ।
साइँलीदि’ (झिँझेट मान्दै) को नि है ! जा उता । तिमेरु जेसुकै भन् म ता सोसल धिन्ताङ नै भन्ने हो । (सबै फरक फरक बस्न थाल्छन्) तेजहाङ, विपाते र सुनकुमार तिमीहरु सबै भएर सबैको रासिन कार्ड बटुली जा काउन्टरमा बुझाइदेओ ।
सिट्टे (साइँलीदि’लाई घोच्दै) सोसियल धिन्ताङको पनि याद राख है साथी हो ।
साइँलीदि’ (रनक्क रन्किएर) एई सिट्टे ! तैँले मलाई घोचेको ? (कानपुरे बुट देखाउँदै) अहिले एई कानपुरे बुटले भुँडीमा दिएरभित्रका जुकालाई तीन ठुन्का पारिदिन्छु र पो ता ! (सिट्टे लाजमर्दो भएर कुनातिर लाग्छ) मलाई धेर नचला है केटा हो ।
तेजहाङ लु…लु सबैको रासिन कार्ड हामीलाई देओ ।
(सबैले आआफ्नो कार्ड तेजहाङका हातमा सुम्पन्छन् ।)
सुनकुमार आमामा … यो गमसफूलको रासिन कार्डको गति हेर ।
विपाते आफू ता हप्तैपिच्छे पार्लर गएर कम्ती राम्री भएर आउँछे । एउटा रासिन कार्ड पनि स्याहार्न नसकेकी हेर ।
गमसफूल (प्याच्चै बोल्दै) कोनि कोनि । म पार्लर गा‘की तिमीहरुलाई आँखा लागेको कि म राम्री भएकोदेखीनसहेको ?
आइतराज त्यसो नभन न गमस् बैनी । यो कमानभरि तिमीभन्दा राम्री ता को छ र अब ? तिम्रो रुप देखेर हामीलाई गर्व लाग्छ ।
हस्ते (गीतको लयमा) के राम्रो जोबन हेरिरहूँ भन्छ नि आँखाले, आँखैमा बिलाउने को हो गमसफूलको रुप बनाउने ?
तेजहाङ गमस् बैनीको सबै ठिक छ तर (रासिन कार्ड देखाउँदै) यो चैँ भएन है ।
गमसफूल कोनि है कोनि ! रासिन कार्डलाई पनि पार्लर लानु कि क्या हो ?
पञ्चबहादुर (झोला देखाउँदै बिस्तारो) गमस् बैनी जाँड ले’को छु खाने ?
साइँलीदि’ भयो भयो । ख्यालख्याल गर्दागर्दै यिनीहरु झगडा गर्छन् । पञ्चे तँ जाँड खुवाउनु आ’को कि रासिन लिनु आ’को ? के साह्रो चलाका यिनेरले गमसेलाई । ऐले लाजमर्दो गरी के के भन्देली अन्त चाख्लाऊ । भयो … भयो चुप गमस् तँ पनि धेर नबोल् रूप्पीजस्तो । (सबै मौन)
गमसफूल (लाडे पल्टिँदै) हेर्नू न साइँली बडी । यिनारले मलाई जिस्काइबस्छन् ।
साइँलीदि’ केटाहरुको जातै हो जिस्काउने । चुपो लागि बस् न भैगो ता । खै उहिले मलाई तँलाईभन्दा धेर जिस्काउँथे । टेरपुच्छर लाउदिनथिएँ ।
तेजहाङ उहिले ता हाम्री साइँलीदि’ले पनि फाँडेकी हो नि हई !
साइँलीदि’ अन्त के ता ! कतै जाँदा एम्बुलेन्स लिएर हिँड्थेँ क्या ! (सबै गललल हाँस्छन्)
गमसफूल (छक्क परेर) एम्बुलेन्स ! किन नि ?
साइँलीदि’ मेरो रुप देखेर बेहोस हुनेहरुलाई टिप्दै एम्बुलेन्समा हाल्नुलाई नि ।
कुशनारायण अहिले पनि के कम्ती र हाम्री साइँलीदि’ ।
साइँलीदि’ (कड्केर छोप्दै जान्छे) नकरा एई कुशे । आगोमा घिउ हाल्ने काम नगर्। ऐले तेरा …
(मञ्च बिस्तारै अँध्यारो हुन्छ ।)

दोस्रो दृश्य

(निकै तल डाँडागाउँमा क्याप्टन बडाको चिया दोकानभित्र सबै पस्छन् ।)

पल्टने बडा आमामा ! आज ता बटालियन पो छ ता ! जुलुस थियो कि क्या हो ?
साइँलीदि’ लकडाउनमा पनि कुन चैँ गोरू जुलुसमा जान्छ हौ पल्टने भाइ । रासिन थापेर आ’को नि ।
पल्टने बडा हाम्री राम्री गमसफूल बैनी पनि रहिछ ।
गमसफूल तपाईंले मलाई मात्रै देख्नुभो ? धनसरी, जसमाया, सञ्चरानीहरुलाई देख्नुभएन ?
पल्टने बडा यो पल्टनेको आँखा कहिल्यै फेल खान्छ ? गमस् मैयाँको यिनीहरुसित तुलना कहाँ हुन्छ ? यी तरूनीहरु तारा हुन् भने गमस् भनेको जून ।
हस्ते लाखौँ ताराकालाई एउटै जूनको उज्यालोले फिका पार्छ होइन र क्याप्टन बडा ?
क्याप्टन बडा एब्सुलेट्ली राइट ।
गमसफूल (गिज्याउँदै) हस्ते सिमेन्टको बस्ते ।
(साइँलीदि’को मोबाइलको रिङटोन बज्छ । मोबाइल लिएर बाहिर निस्कन्छे । अरु सबै आआफ्नै धुनमा चियापानी खान थाल्छन् ।)
(मञ्च अँध्यारो हुन्छ ।)

तेस्रो दृश्य

(चियाबारीको डिलमा बसेर साइँलीदि’ मस्त भएर मोबाइलमा बात गरिरहेकी छन् ।)
साइँलीदि’ हल्लो ! ए काकी बोल्नुभा’की ? ढोगेँ काकी । लकडाउनमा पनि काममा ता नागा बस्ने चान्स छैन । तपाईं बजारेहरुलाई पो ढुक्कै । मर्निङ वाक सकेपछि दिनभरि घरभित्र बस्यो, टिभी हे¥यो । हाम्रोतिर कामैकाम । वस्तुभाउ पालेपछि अहिलेधरि फारस झाडीतिर नगै’ भएन । साथीभाइको साथ लाग्नैपर्छ नत्र चितुवा, भालु, बँदेलको छाक हुन्छ । हाते कोसेलीको लागि फेरि यसो अलिअलि हाते चियापत्ती नबनाई भएन …
काकी (बिचैमा कुरा काटी) त्यहाँ सोसियस डिस्टेन्स कस्तो छ ता ? त्यैमाथि डरलाग्दो हुरीबतास पनि चल्छ भन्दैछ । यताउति नकुदी घरभित्र जोगिएर बस है भन्नुलाई फोन गरेको नि ।
साइँलीदि’ आँ…मर्नु नै छ भने मरिदिउँला नि । हामीले हाम्रो पहाडमा कस्ता कस्ता हुरीबतासको सामना ग¥यौँ भने यो नाथे हापेनलाई कहाँ टेरिन्छ हौ ? हामी ता पूरै प्रिपेड छौँ । त्यो आइला कि माइलालाई ता टेरेनौँ । नाथु यो कोरोना र हापेनलाई एकैचोटि उठीबास लाउँछौँ नि काकी ।
काकी (भुतुक्कै हाँस्दै) हापेन होइन अमफान हौ साइँली अमफान ।
साइँलीदि’ कस्तो आतङ्कवादीजस्तो नाम हई ?
(फोन काटिन्छ । तर्सिने गरीहल्लो गरिबस्छिन् ।)
(मञ्च बिस्तारै अँध्यारो हुन्छ ।)

चौथो दृश्य
स्थान – चिया पसलभित्र ।
होम्बे आज ता खाजा पनि फ्री होइन क्याप्टन साहेब ?
गमसफूल आमामा … यो होम्बे दा के साह्रो हई । सबै कुरो तिमीलाई चैँ फ्री कहाँबाट हुन्छ हौ ।
क्याप्टन बडा मर्ने बेलामा यसले कात्रो पनि फ्री खोजिहिँड्छ ।
गमसफूल फ्री पा’को रासिन बेचेको पैसा निकाल न ।
होम्बे कहाँ बेचे हौ ।
क्याप्टन बडा के गरिस् त्यत्रो आँटा चामल … ?
होम्बे आधा सुङ्गुर बाख्रा कुखुरालाई अनि आधा अलुवाको चैँभाँती जाँड …
म्याउची त्यै ता तर मर्चा पो नपा’र पिर परिरा’को छ । मर्चाको पचास रूपियाँ माग्छ अन्त ।
क्याप्टन बडा (बिचैमा कुरा काटेर) त्यतिमा ता किन्नैपर्छ नि । भन्नु उसो होइन कि यो लकडाउनले धेरैलाई फायदा पो गरेको छ । रासिनपानी, सब्जी फ्री । मासु भन्नुवल्लो डाँडा पल्लो डाँडा जहीँ काटिहाल्छ । सबैको घरमा भाँतीजाड वालछ्याल । के चाहियो ?
जुल्फे जाँडले तमाम गोर्खाका शरीरकोभित्री भाग पूरै सेनिटाइज हुँदैछ । अरु के चाहियो गोर्खेलाई ? खाएर रन्थनिएपछि शोक न सुर्ता भोक न भकारी ।
क्याप्टन बडा हन, सरकारले निःशुल्क अलुवा चामल भात खान फ्री दे’को कि जाँड बनाउन !
म्याउची सरकारले किन यसरी निःशुल्क रासिन दे’को होला हई ?
जुल्फे त्यो चैँ सरकारलाई सोध । यो फ्रीदे’कोचैँसरकारलेकुनदिनकाँचैनिकाल्छनि।
क्याप्टन बडा म्याउचीको कुरा ठिकै हो । लकडाउनमा कोही पनि भोकले नमरून् भनेर दिएको । बिचरा !सरकारलाई हामीले सम्झिनुपर्छ ।
जुल्फे (व्यङ्ग्यात्मक हाँसो हाँस्दै) सरकारलाई सम्झिनु ? त्यो पनि दिनरात ?अरुलाई ता कोनि क्याप्टन बडा टु बी भेरी फ्र्याङ्क्ली, मलाई चैँ जाँड खाएर रनक्क हुँदा मात्र सरकार र मेरो प्यारो गोर्खाल्यान्डको याद आउँछ । अरु बेला गमसफूलको मात्र याद आइरहन्छ । गमसफूल देखेपछि केको बोर्ड, केको गोर्खाल्यान्ड । (सबै गललल हाँस्छन् । गमसफूल आँखा तर्छेे ।)
क्याप्टन बडा रासिनपानी सञ्चय गरिराख्नुपर्छ । नत्र पछि धोका होला है साथीभाइ हो ।
छोम्ले अजिङ्गरको आहारा दैवले पु¥याउँछ । यो लकडाउनमा तेलनुनबाहेक केही किन्नु पर्दैन अन्त ।
जुल्फे तैँले ठिक भनिस् तर मर्चा डबल दाममा किन्नुपरेको कुरो सरकारलाई थाहा छ ?
गमसफूल सरकारले जाँड खाए पो थाहा होस् । मर्चा पनि फ्री दिनुपर्ने ?
जुल्फे अफकोर्स । हात्ती छि¥यो पुच्छर अड्क्यो किन गर्ने ?
क्याप्टन बडा हन फ्री चामलचैँसरकारले तिमारलाई जाँड खानु दे’को कि भात खानु दे’को ?
जुल्फे सरकारले हामीलाई भातै खानू भनेर एग्रिमेन्ट गरेको छ ?
गमसफूल बाइचान्स गरेको भा’?
जुल्फे जस्तोसुकै एग्रिमेन्ट गरे पनि त्यो बाँदरको पुच्छर लौरो न हतियारजस्तै हुने यो ठाउँमा फ्री चामलको जाँड बनाउँदा गोर्खाको जात ता सायद नजानुपर्ने ।
क्याप्टन बडा जात ता किन जान्थ्यो र ! खानु दे’को चामल जाँड बना’को कथङ्काल सरकारले थाहा पायो भने हामी सबैलाई जाँड बोर्डमा गाभ्छनि फेरि ।
छोम्ले जस्तोसुकै बोर्ड बनाए पनि हामी पहाडेलाई कानो गोरूलाई औँसी न पूर्णे । क्याप्टन बडा एनि हाउ यो मर्चाचैँ फ्री गराऊ ।
गमसफूल (जुल्फेको मुख लोपार्दै) इस! दिन्छ होला फ्री मर्चा । हामीलाई ता मर्चा जाँड बनाउने काम लाग्छ । तल मधेसकाहरुलाई चैँफ्री मर्चाको के काम ?
छोम्ले हामी पहाडेलाई जाँड बनाउनु तल मधेसकालाई माड बनाउनु ।
गमसफूल अम्मुई ! औँलो दिँदा डुँडुलो निल्ने !
(मूल पर्दा खस्छ ।)

Facebook Comments Box