नवीनराज पाण्डे
(ग्वालदह, दक्षिणकाली)
साइबेरियाबाट
टौदहमा घुम्न आएको चराजस्तै
सीमित समय लिएर
घुम्न आएको छ एउटा मान्छे
पढ्न नसकेर नक्सा उसले
बाटो हराएको छ
र, पुगेको छ एउटा
प्राचीन मन्दिरमा
जहाँ बनेको छ उसकै मूर्ति
र भएको छ पूजा
फूल र अबिरहरुले
प्रचारप्रसारको अभावमा
रहेछ त्यो मन्दिर
त्यो पल
हटाउँदै हटाउँदै पतकर त्यो मूर्तिबाट
मानौँ, भएको छ आत्मसाक्षात्कार उसको
अनि त्यही मन्दिरबाट देखिन्छ
सेतो हिमाल उत्तरतिर हाँसेको
त्यो मान्छे
हिमाल हाँसेको देखेर
भुसुक्कै बिर्सेको छ आफ्नो गन्तव्य
घुम्न जानु थियो उसलाई
कुनै विशाल सहरमा बनेको
विशाल आइफिल टावर र
पिरामिडहरु हेर्न
टाइम्स स्क्वाएरको क्षेत्रफल र
स्ट्याचु अफ लिबर्टीको उचाइ नाप्न
तर अट्टाहास लिँदै हाँसेर
च्यातेको छ उसले नक्सा
किनकि बाटो भुलेर ऊ
आफ्नो वास्तविक गन्तव्यमा पुगेको छ ।


