चूडामणि नेपाल ‘अकिञ्चन’
(मोरङ, विराटनगर)

मुटुमा नेपाल
शिरमा हिमाल खोपेर, म रातो गुराँस फुलाउँछु
मुटुमा रक्तबीज रोपेर, म रातो गुराँस फुलाउँछु
देशको लागि मर्न परे अग्र पङ्क्तिमा रहन सकूँ
चिहानमा शत्रु छोपेर, म रातो गुराँस फुलाउँछु ।

मन्द स्वर
एकहुल सपनाहरु मलामी गए, म अहिले कोरामा छु
पन्छीहरु उडाउँथ्यौ सपनामा, झुटो म एक्लो खोरमा छु
र्यालीमा चिच्याउँदै नारा लाउने अग्र भागमा म हुन्थे
कसले सुन्छ मेरो आवाज ? क्रमशः म मन्द स्वरमा छु ।

आशा
कान्ला बारीमा जीवन उग्राइरहेका, राम्रा हरिया टाँकी छन्
सरकारका आँखामा सधैँ मयुरपङ्खी, सिगाँरिएका झाँकी छन्
सर्वहाराको सत्तालाई गरिबको पसिना र श्रमको शरीर गन्हाउँछ
राजदूतको भाग्य पल्टन्छ कि, साथीका आशा अझै बाँकी छन् ।

तिमी नआउनू
रात रोएको बेला छ, सहरमा झमेला छ तिमी नआउनू
हात धोएको बेला छ चारैतिर कुबेला छ, तिमी नआउनू
निष्ठुरी कोभिडको खेला छ, छोपेको अनुहार झन हेला छ
गाथ नछोएको बेला छ, मिलन अबेला छ तिमी नआउनू ।

Facebook Comments Box

Similar Posts