प्रेम ओझा
(फिदिम, पाँचथर)
यी आँखामा तिमी बस्दा देख्नलाई सजिलो भो
भावनाको एउटा गजल लेख्नलाई सजिलो भो ।
एक्लो हुँदा सहारा भै मलाई साथ दियौ
परायाका बैरी नजर छेक्नलाई सजिलो भो ।
फक्रिएको मुस्कान तिम्रो वसन्तले सजाएको
फूलैफूलको तिम्रो आँगन टेक्नलाई सजिलो भो ।
न्यानो न्यानो विश्वासले कसिएको अँगालोले
मुटुका गहिरा घाउ सेक्नलाई सजिलो भो ।
भन्नेहरुले जे भने पनि तिमी नजिक आउँदा
भ्रमको कोट फुकालेर फेक्नलाई सजिलो भो ।