कमलीकान्त भेटुवाल
(सुन्दरबजार, कीर्तिपुर, काठमाडौँ)
नेपाली हुँ भन्छ
सफा सभ्य सुसंस्कृत नेपाल कहन्छ
थुक टेक्छ खकार टेक्छ
पानीको सफा स्रोत छ भन्छ
फिँज तैरिएको देख्छ,
ढलमल मिसिएको देख्छ
अर्गानिक खाना र स्वास्थ्यका कुरा भन्छ र
गेस्टहाउस टेक्छ, वेश्यालय छेक्छ,
सेकुवा र मदिरामा आफ्नो अनुहार देख्छ
आमसञ्चार र सामाजिक सञ्जालको नेक्ससमा
आफूलाई एक हातमा चुरोट अनि
अर्को हातमा मोबाइलको लतमा
दिमाग सेक्छ
पेसामा अपडेट हुन नसकेर
आफूलाई नितान्त एक्लो देख्दै
अनि यो भएन ऊ भएन भन्छ र
सञ्जालमा लेख्छ
बिगार्ने उही हो ! हो बिगार्ने उही हो !!
तर विदेशमा पुग्नासाथ
अस्मिता लुटियो भन्दै ट्युनलेस सारङ्गी रेट्छ
धर्म गर्छ पाप ‘नि गर्छ तर
अरु मात्र पाखण्डी देख्छ
संस्कार बिर्सी आफूमाथि आफै बलात्कृत हुन्छ
यै हो त मेरो देश ?
उद्यमी विदेश पठाई
आफू स्वदेशमा ठगी बसी
आएको रेमिटेन्स खाई बस्छ
परनिर्भरता कति हो कति
अब त भो अति
हुने भो विकास र
संस्कारमा खति
पश्चिमाले फ्रड भने
छिमेकीले नटुवा भने
माथ्लाघरे गोरेले मान्छे गनेन
अनि एउटा भन्छ
मलाई त त्यसले केही भनेन !!!