छवि श्रेष्ठ
(बेथानचोक, काभ्रे)
म उठ्छु हर बिहान
बोकेर आफ्नै सपनाहरुको भारी
र हिँड्छु …..
पखालेर एक अञ्जुली विश्वासले अनुहारको
नैराश्य
मेटाएर साहसको एक गप्फा सातुले भोक
एक आदिम युगमा तिमीले देखाएको
अनि मैले कहिल्यै नदेखेको सभ्यताको बाटो ।
हुनत
हामी सँगै निस्किएथ्यौँ
गरेर एउटै प्रतिज्ञा
सँगै पुग्ने सङ्ल्पसहित
गाएका थियौँ, समृद्धिको गाना
समातेर एउटै समताको लय
खै ! कतिबेला छुटिगए
हाम्रा हातहरु …. ।
अहिले त
मेरो दृष्टिले नभ्याउने उपल्लो नगर
भइगएछ तिम्रो अहम्को किल्ला
बसिगएछ तिम्रो साम्राज्यको बस्ती
हामी त निकै दूर भएछौँ मित्र … ।
भन त
नढाटी भन त
तिमी कुन कुन बाटो हिँडेर पुग्यौ
तिमी कुन कुन बाटो फड्केर पुग्यौ
चढ्यौ कतिओटा अजङ्गको पहाड
कुल्चेर मेरो काँध
हिँड्यौ कतिओटा भिरमा बदलामा नदिएर हात
कतिचोटि लडायौ चुँडालेर आस्थाको डोरी
त¥यौ कतिओटा समस्याको सागर
बनाएर मेरो शवको डुङ्गा
र कोरियो तिम्रो वर्तमान सोखको चित्र ।
सुन्दै छु
अचेल अलि पच्दैन रे तिमीलाई
खुब स्वाद लिएर खाएको मेरो अश्रुव्यञ्जन
मलाई त खुब मिठो लागिरहेछ
तिमीले पस्किदिएको अपहेलनाको गाँस
किनकि मसँग छ मेरो इमानको चटनी ।
म सक्छु अझै
–तिमीतिर कसैले बर्साए ईष्र्याको मुक्का
चट्टान भएर उभिन तिम्रो छातीको अघिल्तिर
–गलाउन खोजे तिम्रो खानदानी ज्यान
घाम भएर सेकाउन
पहाड बनेर छेकाउन
आँधी बनेर उडाउन
बाढी बनेर बगाउन
किनकि
बरू तिमी पो चुहिन सक्छौ
ओ ! बुइँगलमा बसेको मान्छे
थाप्ने छु म तिमीलाई काँध
भासिन्न मेरो धरातल
म त भुइँमा बसेको मान्छे
किनकि
म आफै आइपुगेको हुँ यहाँसम्म
हिँडेर आफैले बनाएको बाटो ।।