भोगेन्द्र लिङ्देन
साईबर च्याटिङ्मा
खुसी हुँदा
ऊ मलाई हाँसिरहेको इमोजी पठाउँछे
म उसलाई त्यस्तै इमोजी पठाउँछु
दुःखी हुँदा
ऊ मलाई रोईरहेको इमोजी पठाउँछे
म उसलाई त्यस्तै इमोजी पठाउँछु
मनपर्दा
ऊ मलाई थम्स अप इमोजी पठाउँछे
म उसलाई थम्स अप इमोजी पठाउँछु
मन नपर्दा
ऊ मलाई थम्स डाउन इमोजी पठाउँछे
म उसलाई थम्स डाउन इमोजी पठाउँछु ।
साईबर च्याटिङ्मा
लब, सरप्राईज्ड, सक्ड, ब्रोकन हार्ट, सेलिब्रेशन …….
सबैकुरा इमोजीमै भन्छौं हामी
तर किन किन
इमोजीको आँसुले
मेरो मनको व्यथा भन्न सक्दैन तिमीलाई
इमोजीको बनावटी वाक्यहरूले
मेरो मनको कुरा भन्न सक्दैन तिमीलाई ।
साईबर च्याटिङ्मा
एक अर्कालाई ईमोजी पठाउँदा पठाउँदै
हामीले एक अर्कालाई नहेरेको वर्षौं भइसकेछ
हामीले एक अर्कालाई नदेखेको वर्षौं भइसकेछ
सबै कुरा इमोजीमा भन्दाभन्दै
हामीले बोल्न छाडेको वर्षौं भइसकेछ
वास्तवमा हामीले बोल्नै पो बिर्सिसकेछौं त ।
साईबर च्याटिङ्मा
ईमोजी हाँसेजस्तो
जीवन सजिलो कहाँ छ र ?