१. अलमल
सोच सतहमा अलमलिएपछि
भावना आवरणमा अल्झिएपछि
साधना आराधना बन्न पुग्छ

मान्छे आत्मरतिमा रमाउन थाल्छ ।

२. धरातल
आकाशमा उड्ने चराले
उडुन्जेलसम्मलाई धरती छोडे पनि
जतिसुकै माथि पुगेर
बादलको सहर डुले पनि
अन्ततः धरतीमा फर्कनु नै पर्छ ।
तर
बादलमा घर बनाएर बस्ने
मोह जाग्यो भने
भुइँमा खसेर मर्छ ।

३. मेरो कविता
भावनाले
जे देख्छ र अनुभूत गर्छ
मस्तिष्कले
जे सोच्छ
विवेकले
जे ठम्याउँछ
त्यसैलाई शब्दमा उतार्छु ।
म त्यसमा रङ भर्दिनँ
म आवरणमा परिवर्तन गर्दिनँ
किनकि !
म मौलिकता मासेर
पहिचानमा भ्रम सिर्जना गर्न सक्तिनँ ।

Facebook Comments Box

Similar Posts