रामकुमार पण्डित क्षत्री

दाजुभाइले दुःख गरेर घरको जिम्मेवारी लिए । पहिलेको मनमुटाव र तेरोमेरो सबै रछ्यानमा पुरेर समृद्धिको छानोले घर सिँगार्ने प्रण गरे । छोराहरुको सद्बुद्धि पलाएको देखी पिता खुसी भए ।
संवृद्धितिर पाइला अघि बढ्दै थियो । एकाएक शक्तिदेवीले तिनका हिँडिरहेका पाइलालाई दौडाउने प्रस्ताव पठाइन् । शक्तिदेवीले चाहे असम्भव केही थिएन । यसमा संसार विश्वस्त थियो । शक्तिदेवीको प्रस्तावले दाजुभाइ हौसिए ।सर्त मान्दै गए । अन्त्यमा त्यो प्रस्तावलाई छिमेकीले सदर गर्नुपर्ने र आफ्नै घरपरिवारले अनुमोदन गर्नुपर्ने स्थिति आयो । दुवै दाजुभाइले छिमेकीलाई गुहारे । छिमेकी शक्तिदेवीप्रति सशङ्कित भए । बाहिर राम्रो भित्र चाम्रो कुरा गरेर सर्त नमान्न सुझाए । यता घरपरिवारले पनि अनेक शङ्का गरे । नमिल्दो सर्त सच्याएर मात्रै अघि बढ्न अनुरोध गरे । उता शक्तिदेवीले छिटो गर्न घचघच्याइरहिन् । दाजुभाइ धर्मसङ्कटमा परे । केही सिप नलागेर घरको नेतृत्व कसले गर्ने भनेर झगडा गर्न थाले । झगडालाई नाटकको संज्ञा दिँदै, शक्तिदेवीले घरपरिवारबाट अनुमोदन गराउन भित्रभित्रै दबाब दिइरहिन् ।
शक्तिदेवीको कुरा मानौँ छिमेकी रिसाउने, घर भाँडिने, नमानौँ सर्वनास हुने । अन्तिम उपायस्वरुप दाजुभाइले अंशबन्डा गर्ने निर्णय गरे जुन कार्यान्वयन हुनासाथ, ‘त्यै बज्याले घर फुटायो …’ भन्दै एकअर्कालाई सत्तोसराप गर्न थाले । मालपोत कार्यालयलाई भने आधिकारिक दाबी नपाउँदा कसरी भाग लगाउने ? समस्या पर्यो । यस्तैमा छिमेकीलगायत शक्तिदेवीले ‘अर्काको घरको कुरो’ भनेर चासो नभएको नाटक गरे । वयोवृद्ध बाहरुले फेरि मति बिगारेकोमा घरपरिवार भने बेखुसी भए।

Facebook Comments Box

Similar Posts