• देवराज सिम्खडा

बेतिनी वन बाक्लो र हरियो थियो । वनमा काफलका रूखहरु थिए । ऐँसेलुका झाङमा ऐँसेलु लटरम्म पाकेका थिए । काफल पाक्न लागेको थियो । चुत्रो पाकेर कालै भएको थियो । जामुनो पनि पाक्न थालेको थियो । झ्याउँकिरीका आवाजले वनको वातावरण सङ्गीतमय थियो । मान्छेका बस्तीभन्दा वन सफा, शान्त र आनन्ददायी थियो ।

चैत र वैशाख महिना वसन्त ऋतु । धेरै थरीका फूलले वनका पाटा राताम्य थिए । काफल र ऐँसेलु पाक्न थालेपछि हरेक वर्ष काफल पाक्यो चरा आउँथे । काफल पाक्यो चरा कोइलीकै खलक थिए । यसपालि पनि बेतिनी वनमा कोइलीहरु कराउन थालिसकेका थिए ।

छानी छानी काफलका बोटमा बस्दै कोइलीहरु कुहुकुहु गर्दै थिए । कतै काफलचरी ‘अक्कोपक्को काफल पाक्यो’ भन्दै चिच्याइरहेका थिए । ऐँसेलु र काफलका रूखलाई कोइली र अरु चराले आमाको काखजस्तै प्यारो मानेका थिए ।

कोइली र काफल पाक्यो चराहरु बोल्न थाले । बेतिनी गाउँका मानिसले चराले ‘अक्कोपक्को काफल पाक्यो’ भनेको सुने । उनीहरु समूह समूहमा वनमा काफल र ऐँसेलु टिप्न जान थाले तोरीबारी गाउँका केटाकेटी ।

उनीहरुले सधैँजस्तो आज पनि हँसिया, नाम्लो र झोला बोके । लस्कर लागेर बेतिनी वन पसे । बाटाका दायाँबायाँ पाकेका ऐँसेलु र चुत्रो खाँदै काफल वन पुगे । काफल लटरम्मै पाकेको देखेर दङ्ग परे । हुलका हुल केटाकेटी आएको देखेर कोइलीहरुले आश्चर्य माने । उनीहरुलाई अलि अलि डर पनि लागिरहेको थियो ।

वनमा पुगेपछि केटाकेटीहरु समूह समूहमा बाँडिए । प्रत्येक समूह फरक फरक रूखमा चढे । काफल टिप्दै खान थाले । धेरै बेरसम्म रूखमै बसे । हातले भेट्न सक्नेजति सिध्याए । हल्लाखल्ला पनि उत्तिकै गरे ।

कोइलीहरु बोलिरहेका थिए । काफल चराहरु ‘अक्कोपक्को काफल पाक्यो’ भन्दै थिए । उनीहरुलाई केटाकेटीको व्यवहार चित्त बुझेन ।

केटाकेटी कोइलीको बोली सुन्दै थिए । कोही भन्दै थिए, ‘ए साथीहरु, सुन त त्यो चरोले काँचो नटिप, काँचो नटिप भनिरहेको छ ।’

कोही भन्दै थिए, ‘हो नि । काँचो नटिपूँ है । यो वन उनीहरुकै हो नि ।’

शान्ति बोलिन्, ‘सबै काफल हामीले खाइदिए उनीहरु के खान्छन् ?’

अर्कोले थप्यो, ‘ठिक भन्यौ तिमीले । अब हामी ओर्लौं र जाऔँ ।’

त्यति नै बेला एक हुल मौरी आए । उनीहरु पाकेका काफलका दानामा बसे । वरिपरि घुमेर हेरे र केही नबिगारी गए ।

अर्को रूखमा चढेका केटाकेटी काफलका हाँगा भाँच्दै थिए । कोही हाँगा काट्दै थिए । त्यसै रूखमा रहेका कोही चाहिँ भन्दै थिए, ‘ए उता सुन त, त्यो चरा के भन्दै छ, हाँगा नभाँच हाँगा नभाँच भन्दै छ क्यारे ।’

अरुले पनि हाँगा भाँचेर भए पनि काफल टिपे अनि झोलाभरि काफल लिएर घर फर्के ।

केटाकेटी त्यहाँबाट फर्किएपछि कोइलीहरु काफलका रूखमा पुगे । रूखको अवस्थाको अवलोकन गरे । त्यो देखेर उनीहरु साह्रै दुःखी भए । काफलको बोटलाई भने, ‘काफल आमा, तपाईंहरुलाई त एकैछिनमा भताभुङ्ग बनाएछन् ती केटाकेटीले !’

रूखहरुले दुःख नमानी भने, ‘हो अलि अलि घाइते भएका छौँ । पिर नमान बाबु । हामी रूखहरु सबै खालका दुःख सहन सक्छौँ ।’

एउटा कोइली अलि अघि बढ्यो र बढी कुरो जान्न खोज्यो, ‘तपाईंलाई उनीहरुले पटक्कै दया देखाएनन् । हाँगा भाँचे तर पनि काफल टिप्न दिइरहनुभयो । किन नरोक्नुभएको आमा ?’

कोइलीको कुरो सुनेपछि अलि बुढो काफलको रूखले भन्यो, ‘हामी सबै रूखबिरूवाको स्वभाव यस्तै हुन्छ । उनीहरुले कुनै दिन हाम्रो कुरा बुझ्ने छन् अनि राम्रो गर्लान् ।’

‘अहा ! कति सहनशील यी रूखहरु !’ कोइलीहरु रूखको कुरो सुनेर दङ्ग परे । उनीहरु भुरर्र उडे र आफ्नो काममा लागे ।

Facebook Comments Box

Similar Posts