तुमला ढुङ्गाना
(चाँगुनारायण २, भक्तपुर)
तिमी लेख्छौ हो ?
के लेख्छौ ?
मनको लेख्छौ कि बजारको लेख्छौ ?
तिम्रो लेख्छौ कि हजारको लेख्छौ ?
उनको शरीरको बयान लेख्यौ होला
अनि बजारको रछ्यान लेख्यौ होला
ओल्टाई, पल्टाई, बढाई, चढाई लेख्यौ होला
बहकिएर, मनैमनमा, मनकै रजाइँ लेख्यौ होला ।
कहिलेकाहीँ त त्यो कुकुरको व्यथा लेख
जसका छाउराको अवशेष उसकै आँखाअघि
गाडीका पाङ्ग्राले मेटाउँदै छन् ।
चरीको व्यथा लेख जसले उसका बचेरालाई
पखेटा खोल्न नजान्दै निर्दयी क्रूर
बाजको पन्जाले गाँजेको देख्यो,
बचाउका लागि केही गर्न नसकी रोयो ।
कसाइको खोरको त्यो खसीको कथा लेख
जसले आफ्नै आँखाअघि
आफ्नो साथी टुक्रिएर भाग लागेको देख्छ ।
सन्तानको आशामा उपचाररत महिलाले
बान्ता गरेको पीडामा पनि ‘देखेको आशा’को झिल्को लेख ।
एयरपोर्टको ट्रली घचेट्दै गरेको सन्तानलाई हेर्दै
रूनु कि हाँस्नु भएर उभिएका आमाबुबा लेख ।
पासपोर्टमा छाप लाग्दै गर्दा
श्रीमतीको पेट छामेर भक्कानिने श्रीमान् लेख ।
एयरपोर्टमा बाकसका साथमा ब्लडमनी समाउँदा
बाउका काँपेका हात लेख ।
शृङ्गारको घुम्टोभित्र सजिएर
आजसम्मको सम्पूर्ण अस्तित्व अग्निमा हवन गरी
नयाँ परिचय बोकेर कसैको
चेलीले सँघारमै ढोका छेकिएकी दुलहीको भाव लेख ।
तराई झर, गर्मी महिनामा,
खोलाको छिपछिपे पानीमा भिज्दै बालुवा खेल्दै गर्ने
बच्चाबच्चीका बारेमा लेख ।
ट्युबवेलको पुछारमा झुन्डिएर
तुरूक्क झारेको पानी
दौडेर हात थाप्दै पिउने बबुराको कथा लेख ।
बाटोको छेउमा रोकेको कारको
सिसामा लागेको धुलोमा पाइने केटाकेटीका
कलाकारी र साक्षरता लेख ।
बेमौसमी बर्सातमा किसानको हैरानी लेख ।
त्यही पानीमा भिजेका प्रेमिल जोडीको कहानी लेख ।
लेख्न सक्छौ भने
विधुवाको पखालिएको सिन्दुर लेख,
सपनाको चिहान र निराशा जरूर लेख ।
छोटा भीम, शिवाजस्ता तिलस्मी पात्रको आशमा
छतमा दौडने बालकको कहानी लेख ।
बुढेसकालमा, व्यस्त सन्तानको बाटो हेर्दै,
थलिएका बाबाको आँखाका सपनी लेख ।
घरको अभिभारा बोकेर कलिलो उमेरमै
पसिना बगाउन बिदेसिएको जवानी लेख ।
ती ब्वाँसा छिमेकीका बारेमा पनि लेख
जो तिम्री छोरी दौडेको देख्दा
कम्मरदेखि घाँटीसम्म मात्र घुरेर हेर्छ,
पानीमा भिजेको देख्दा काखी च्याप्न दौडिन्छ ।
ती कर्मचारीमा तलबभन्दा सेवासुविधासँग
लालच किन छ लेख,
सेवाग्राहीलाई ‘मुर्गा’ भन्छ किन होला ? लेख ।
तिमी त्यस्तो कथा समेट
जुन तिम्रो मनमुटुमा छ
सबैको आँखामा भएर पनि आजसम्म अलिखित छ ।
तिमी त्यो लेख जुन लेखेर तिम्रो वाहावाही नहोला,
कुनै चर्चा पनि नहोला ।
आजसम्म, हामीले सास फेर्ने हावाको बारेमा लेखेर
को चर्चित भएको छ ?
के हावाको महङ्खव नभएको हो र ?
तिमी आत्माको फोल्डरमा लुकेका विषय लेख
तिमी बिस्तारै सबैको आवाज हुने छौ
तिमी जीवन्त हुनुपर्छ ।
कसैलाई नसुनाएको कथा लेख
एकान्तमा झस्काउने व्यथा लेख
तिम्रो आफ्नो स्वभाव लेख
दुनियाप्रति तिम्रो भाव लेख ।
तिमी लेख्न जन्मिएको हो, तिमी लेख ।


