लोकेश साउद
(बैतडी)
जब बर्सातले बिदाइका हात हल्लाउने छ
यो खहरेको गडगड हराउँदै जाने छ
ग्रीष्मकालीन समयले जब डाँडा काट्ने छ
तब खहरेको औकात दुनियाले थाहा पाउने छ ।
घामको ताप र रापसँग
अवश्य टल्किने छ सफेद पत्थर
जब साझ पर्ने छ
तब हराउने छ त्यसको चमक
दिन ढलेपछि थाहा हुने छ
पत्थरलाई आफ्नो ओैकात ।
निष्पट्ट अँध्यारो छाउने छ जब
तब चम्किने छ हिरा
अँध्यारोमै हुने छ असली हिराको पहिचान
पत्थर र हिराको भेद छुट्ट्याउन
रातको प्रतीक्षा गर्नै पर्ने छ ।
एउटाले पानी धमिल्याउने
र अर्कोले माछा मार्ने
यता र उता ठिक्क पारेर बाँचेका ए लेन्डुपहरु
एकदिन सबको आँखाको पट्टी खुल्ने छ
र भ्रमको पर्दा पनि च्यातिने छ
असली अनुहार देख्ने छ दुनियाले ।


