- रामगोपाल आशुतोष
म
फूलहरुसित कुरा गर्छु ।
फूलहरु
कानेखुसी गर्छन् एकआपसमा मेरो कुरा सुनेर ।
केही लजाउँछन् – र गाढा हुन्छन् झन् झन्
केही मुस्काउँछन् – र सुगन्धित हुन्छन् अझ बढी ।
म
किसी फल्चाको उत्तर कुनामा फुलिरहेका
गुनकेरा फूलहरुलाई गीत सुनाउँछु
शब्द शब्दमा प्राण भरेर
तिम्रो प्रशंसामा लेखेका कविता सुनाउँछु ।
पूर्वतिर
हनुमानघाट त्रिवेणीको
गरा गरामा लहराउँदै हाँसिरहेका बेलीचमेलीलाई
तिमीसितको पहिलो भेटको किस्सा सुनाउँछु
केही हात पर
लहराहरुको लौरो टेकी उभिएको चिरञ्जीवी वरपिपललाई
तिमीसित बगेको पहिलो यात्राको कहानी सुनाउँछु
साक्षी चन्द्रमा
र, शिरीषजस्तै निलो लभबाइट प्रमाण देखाउँछु !
हनुमानको नङको कापबाट खसेको
सञ्जीवनी बुटीको वन
इनरे गणेद्योको शिरमाथि … अग्लो … बुट्यानका
घन्टीफूल, गोदावरी, यलेमुखु, लालपात्या
र, डाँडै ढाक्ने तकु स्वाँ
लट्ठिएर सुन्छन् मेरो आवाजमा प्रेमकथा
बिल्कुल तिमीजस्तै छन् – फूलहरु
ध्यानस्थ – मदहोस – सम्मोहित, प्रेमिल र समर्पित !
म
यातु गणेद्योको आँगनमा
आकाशका बादलहरुसित बात मारिरहेका
पलेस्वां पुखुमा ठुलठुला पात फिँजार्दै
रजस्वला रोकिएकी मेरी प्रेमिकाजस्तै
फुलेर ढकमक्क
नीलकमलहरुलाई छुन्छु – प्रेमले सुमसुम्याउँछु ।
फूलहरु,
प्रेमावेगले हो कि भावावेगले हो
काउकुती लागेर हो कि अनुरत्तिमा डुबेर
आनन्दको चरमोत्सवले
बैँसको पिङमा बतास सैसला खेलेझैँ लहराउँछन्
आँखा बन्द गर्छन्
र, खोल्छन् अनुरागले थर्थराएका ओठ !
जस्तो तिमी बग्थ्यौ मेरो स्पर्शले
र, अँगाल्दै बर्साउँथ्यौ चुम्बन
जस्तो तिमी बेहोस बेहोस हुन्थ्यौ मेरो न्यानोले
र, बगाउँथ्यौ चाहनाको नदी !
मालीँ तताले
दिगुपूजाको एक दिनअघि घरमा ल्याइदिएको
मुःस्वाँ र धन्चा स्वाँहरुलाई
तिमीलाई आफ्नो मुटु बनाउन
मैले बेलेको पापड र लेखेका प्रेमपत्र पढेर सुनाउँदा
मेरो इमान र समर्पणको प्रशंसा गर्दै
मेरो कुलको फूल बन्ने प्रतिज्ञा गरेका थिए ।
फूलहरु
तिमीजस्तै छन् काटिकुटी
रेडियोमा सुनेझैँ घन्टौँ सुन्छन्
मेरो आवाजको जादुमा मोहित भएर – कथावाचन !
तिमी मसित नहुँदा
रूखको गुँडमा बसी मालश्री गाउने
चराको प्रेमगीत सुन्दै फूलहरुसित हुन्छु ।
फूलहरुसित हुँदा
हनुमती खोलाको किनारका
काँगियो, खयर,
गोगन, कुटमेरो र शिरीषको शीतल छहारीमा
तिमीसित भएको महसुसमा डुब्छु ।
चाःगुँको वनबिच ध्यानस्थ
चाँगुनारायणको गरूड, छिन्नमस्ता, बालहात्ती
शिवलिङ्ग, टुँडाल,
प्राचीन प्रस्तर कला र समस्त पर्यावरणको अद्र्धमुदित आँखाअघि
तिमीलाई अँगाल्दै
तिमीलाई जस्तै हिजो फूलहरुलाई भनेँ –
‘थाहा छ ज्यान– म गर्भवती छु नि !’
फूलहरु
तिमीजस्तै खुब हाँसे– मन खोलेर, आकाशजस्तै खुलेर !
आज, बिहानी शीतमा भिजेका
ढकमक्क फुलेका फूलहरु देखेँ ।
र, सम्झेँ
गाढा, स्निग्ध, मनमोहक
सूर्योदयको मुःतिथों पिएर मदमस्त रातो हिमालझैँ
अप्रदूषित तिम्रो मुस्कान !
उनान्सय चोकको आँगनमा उभिएर
त्यही रातो टल्केको हिमाल हेर्दै
मन्द हाँसिरहेको तिम्रो मुस्कान सम्झँदै
म
गाउँदै छु
हर्ष, प्राप्ति र समृद्धिको गीत
– ‘वा … खासे … खासे …खासे … !’
शब्दार्थ
किसी फल्चा – मेरा पुर्खाले बनाएका भक्तपुरको ङातापोलको जग हालेकै दिन जग हालेको एक प्रसिद्ध पाटी
गुनकेरा – गुनकेशरी
इनरे गणेद्यो – भक्तपुरस्थित सूर्यविनायक मन्दिर
यलेमुखु – इन्द्रकमल
लालपात्या – लालुपाते
तकु स्वाँ – लालीगुराँस
यातु गनेद्यो – भक्तपुरको कमलविनायकस्थित ढिला बोल्ने बालबालिकालाई बोली दिने मिथकीय गणेश
मालीं तता – फूलको व्यापार गर्ने मालिनी दिदी
दिगु द्यो – नेवार जातिका कुल देउता
मुःस्वाँ – नेवारले दिवालीका दिन कुल देउता पूजा गर्न चढाइने एक फूल नफुल्ने हरियो फूल
धन्चा स्वाँ – धनियाँ फूल
चाः गुँ – चाँपको जङ्गल
मुःति थों – जाँडको पहिलो रस (निङार)
वा खासे खासे – खलामा धान सुकाएर घर भित्र्याउनु