राधिका कल्पित
(काठमाडौँ)

जब म लता/फूल/माटोसँग प्रेमालाप गर्छु
लद्दु विद्यार्थीले उत्तरपुस्तिका केरेजस्तो
केरिरहनु पर्दैन कविताका खेस्राहरु
म त कोदालोको आदिम–कुची
पसिनाको मसीमा चोपलेर लेखिरहन्छु
माटोको काँचो कागजमा श्रमको गीत !

जब हरिया बनस्पतिको हरकमा लट्ठिएर
जमिनको स्पर्शमा हराउँछु
केन्टुकीमा बसेर कर्णालीको कहर लेख्दाजस्तो
पहरामा बसेर सहरको कविता लेख्दाजस्तो
कनी कनी खोज्नुपर्दैन बिम्बहरु
म त कर्कलाका पातमा खसेको इन्द्रेणी रङ टिपेर
सजिलै लेखिदिन्छु जीवनको कविता !

जब
कुपोषणले ग्रस्त गरिबजस्तो सिन्के सिमीको झालले
एक मुठी कोसाको कोसेली बोकेर सकिनसकी उभिरहेको देख्छु
बन्जर र ढुङ्यानमा
चराले बिस्टाएका अनाजहरु
अकास ताक्दै हुर्किरहेको देख्छु
डालोमा राखेका पिँडालुका गानामा
माटोबिनै हरिया टुसाहरु पलाएको देख्छु
उखेलेर फालेको अजम्बरी फूल
पत्थरमाथि मुस्कुराउँदै गरेको देख्छु
तब म हरिया आशा देख्छु, हरियै कविता लेख्छु ।

म किसान–कवि
खन्दा–श्रमको बिम्बले खन्छु
रोप्दा–आशाको बिम्ब रोप्छु
उत्साह र प्रेमको कुटोले उकेरा लगाउँछु
तन/मन/उमङ्गले मलजल गर्छु
सृजना/सन्तुष्टि/सहकाल भित्र्याउँछु

माटोको काँचो कागजमा
प्रेम र अस्तित्वको कविता लेख्छु ।

Facebook Comments Box

Similar Posts