डा. टीकाराम पोखरेल

देश बनाउने कुरा धेरै भए । पुराना कुरा मात्र कति गर्ने । अब संसार बनाउने कुरा गर्नुपर्छ भन्ने सोच आयो । यसको नेतृत्व नेपालले लिने भयो ।
संसार बनाउने विषयमा छलफल गर्न नेपालमा विद्वत भेला बोलाइयो । भेलामा सुकरात, चाणक्य, लाओत्सेजस्ता दार्शनिक आमन्त्रित थिए । डार्बिन, माक्र्स, फ्रायड, आइन्स्टाइन नहुने कुरै थिएन । रूसो, लिङ्कन, गान्धीदेखि हिटलर र मुसोलिनीसम्म सबै संसार बनाउने बहसमा उत्साहपूर्वक सम्मिलित भए ।
संसार कसरी बन्छ ? छलफल र बहस सुरू भयो ।
सुकरातले सबैले सत्य बोले संसार बन्ने तर्क प्रस्तुत गरे । चाणक्यले इमानदारी र कूटनीतिमा जोड दिए । लाओत्सेले अलि दार्शनिक भएर बोले ।
डार्बिनले मानिसले बाँच्नका लागि सङ्घर्ष गरेको कथा सुनाउँदै सङ्घर्ष नै संसार बदल्ने अस्त्र हो भन्ने तर्क प्रस्तुत गरे । माक्र्सले डार्बिनको सङ्घर्षमा अलिकति द्वन्द्वात्मक भैतिकवादको लेपन लगाइदिए । आइन्स्टाइनले विज्ञान र प्रविधिको विकासविना संसारको विकास सम्भव छैन भने । फ्रायडले मान्छेका मनोवृत्तिलाई विकाससँग जोड्दै अलिकति यौनिक रङसमेत भरेर छलफललाई रोमान्टिक बनाइदिए ।
हिट्लरले युद्धविना संसारको विकासको परिकल्पना गर्नै नसकिने तर्क राखे । गान्धीले हिटलरको तर्कको कडा प्रतिवाद गर्दै संसार बदल्ने एक मात्र अस्त्र शान्ति र अहिंसा हो भने ।
आयोजकको नाताले अन्त्यमा बोल्ने पालो नेपालको थियो । नेपालबाट मागबहादुर झ्वाम त्यस बहसमा सहभागी थिए ।
विदेशबाट आयातित टाइ र सुटमा सजिएका मिस्टर मागबहादुर झ्वामले अदबसाथ भने– ‘हेर्नुस् मित्रहरु ! हामीले तपाईंहरुको कुरा सुन्यौँ । सुन्यौँ मात्र होइन, बुझ्यौँ पनि तर तपाईंहरुले भने जस्तो गरी संसार बन्दैन ।’
‘कसरी बन्छ त ?’ एक सहभागीले प्रश्न गरे ।
‘संसार मागेर बन्छ । हामीले मागेरै देश बनाएका छौँ, संसार पनि मागेरै बनाउने हो ।’ मिस्टर झ्वामले फूर्तिसाथ भने ।
‘देश बनाउँदा पो एक देश माग्थ्यो अर्को देशले दिन्थ्यो । संसार बनाउँदा त सबै देशले आफ्नो योगदान गर्नुपर्यो। सबैले मागेपछि दिनेचाहिँ कसले ?’ फेरि अर्को सहभागीको प्रश्न आयो ।
‘लौ ! सबैले माग्ने कसले भनेको छ र ? माग्ने हामी, दिने तपाईंहरु । संसार बनाउने हामी, हेर्ने तपाईंहरु ।’ मिस्टर झ्वामले अझ फुर्तीसाथ भने ।
नेपालको संसार बनाउने कला देखेर सबै आश्चर्यचकित भए । भेला सकियो । सहभागीहरु आफूले माग्ने कला नजानेकोमा पछुताउँदै आआफ्नो देश फर्के ।

Facebook Comments Box

Similar Posts