१. चस्मा
ऊ व्याकुल भयो । उसलाई आफ्नी श्रीमतीले शत्रुलाई भन्दा धेरै घृणा गर्छे भन्ने कुरा थाहा भयो । उसकी श्रीमती पतिपरायण थिई । आजसम्म उसको कुरालाई चार पैसा पनि यताउता पार्दिनथिई । जहिल्यै प्रसन्न अनुहार लगाएर श्रीमान्को सेवामा हाजिर हुन्थी तर आज अरु दिनको भन्दा ठिक उल्टो भइदिएको थियो ।
कुरा के भयो भने विज्ञानले नयाँ प्रविधिको एउटा चस्मा अविष्कार गरेको थियो । चस्मा औधी महँगो थियो तर पनि उसले किन्यो । त्यो चस्मा लगाएर जसलाई हेर्यो उसको मन पढ्न सकिन्थ्यो । उसले सोही चस्मा लगाएर श्रीमतीको मन पढ्यो । तर रिजल्ट ठिक उल्टो आयो ।
उल्टो रिजल्ट आएकोमा उसलाई खपिनसक्नु पीडा भयो । सबै पीडा भुल्न रक्सीको सहारा लियो । यसले मात्र उसको चित्त बुझेन । ऊ नगरवधुकोमा गयो । उसले आफ्नो सबै पीडा नगरवधुका सामु पोख्यो ।
नगरवधु पढेलेखेकी स्मार्ट थिई । उसले उसको सबै कुरो ध्यानपूर्वक सुनी । सबै कुरो सुनिसकेपछि उसले उसको श्रीमतीको फोटो देखाउन भनी । उसले खल्तीबाट झिकेर मोबाइलमा खिचेको श्रीमतीको फोटो देखायो ।
नगरवधुले भनी, ‘मैले यी महिलालाई तिमीले किनेको जस्तो चस्मा लगाएर आफ्नो लोग्नेको मन पढनू भनेर दिएकी थिएँ ।’
‘किन दियौ ?’ उसले झर्केर सोध्यो ।
उसले भनी, ‘एउटा कार्यक्रममा उसको र मेरो बिचमा वादविवाद भएको थियो । उसले भनेकी थिई, ‘मेरो श्रीमान् तिमीहरुजस्तो नगरवधुकोमा धाउँदैन । ऊ पत्नीपरायण छ । तिमीहरुजस्तो बाइफालेमाथि पैसा खर्चै गर्दैन । ऊ तिमीहरुजस्ताको मुख हेर्नु त के ! नाम पनि सुन्न चाहँदै । ऊ परस्त्रीगमनको कुरा त छाडौँ, परस्त्रीलाई आँखा उठाएर पनि हेर्दैन । यस्तो इमानदार छ मेरो पति ।’ उसको कुरो सुनेर मैले उसलाई कति सम्झाएँ, तिमीहरुजस्ता पतिपरायणा पत्नीलाई आफ्नो लोग्नेको वास्तविक चरित्रका बारेमा केही थाहा हुदैन भनेर । उसले मेरो कुरो मरे पत्याइन । अनि तिमीले लगाएको जस्तो चस्मा उसलाई लगाउन दिएँ र भनेँ, ‘यो चस्मा लगाएर तिमीले तिम्रो श्रीमान्को मन हेर ।’ त्यो चस्मा लगाएर तिम्री श्रीमतीले तिमीलाई हेरेपछि नै उसले तिमीलाई घृणा गर्न थालेकी हुनुपर्छ । तिमीले अफिसतिर परस्त्रीलाई आँखा लगाएको अनि ट्रेनिङमा जान्छु भनेर गर्लफ्रेन्ड लिएर घुम्न हिँडेको त्यही चस्माबाट थाहा पाइहोली ।’
नगरवधुको यस्तो तितो कुरो सुनेर ऊ रन्थनियो । उसले आँखै देख्न छाड्यो । त्यस दिन ऊ अन्त कतै नगएर सरासर घर आयो । उसले आफूले लगाउने गरेको चस्मा खोज्यो । टेबुलमा थियो । त्यसमा जमेका कसरमसर सफा गरेर आँखामा लगायो र श्रीमतीलाई हेर्यो । चस्मामा के देखियो भने त्यस दिन उसकी श्रीमती पनि ऊजस्तै परपुरूषगमन गरेर आएकी हुन्छे ।
२. स्विटर
उसले आमालाई फोन गर्यो, ‘आमा ! के छ हालखबर ?’
आमा, ‘ठिक छ छोरा । बाबु तेरो खबर के छ ?’
‘मेरो पनि ठिक छ आमा । जाडो कत्तिको छ ?’
‘जाडो टन्नै छ बाबु ।
‘अनि लुगाफाटाहरु छन् कि छैनन् ?’
‘छन त छन् बाबु तेरा बुबाको स्विटर धोएर सुकाएको सुकेको छैन । अर्को एउटा धुँदाधुँदै साँगुरो भएर लगाउन नहुने भयो ।’
‘अनि अरु खबर के छ त आमा ?’
‘सबै ठिकै छ ।’
‘खर्चपानी केकस्तो छ ?’
‘खर्चपानी ठिकै छ, मेरो मोबाइल बिग्रेर चलाउन नै भएको छैन बाबु ।’
‘ए ! अरु खबर के छ त ?’
‘लकडाउनले भाइको व्यापार चल्न सकेन । छोराको एडमिसन गर्नै सकेको छैन ?’
‘भाइबुहारीले तपाईंहरुको राम्रै हेरविचार गरिराखेका छन् होला नि । खानपिन टाइम टाइममा हेर्छन् कि हेदैँनन् ?’
‘हेर्छन् राम्ररी हेर्छन् ।’
‘अनि अरु खबर के छ त आमा ?’
‘अरु सबै ठिकै छ । बुबाले एउटा सानो टुक्रा जमिन किन्नको लागि बैना गर्नुभएको थियो तर किन्नलाई पैसा बटुल्न सक्नुभएन । तेरो आशा गरिराख्नुभा’छ ।’
‘हुन्छ त आमा, अहिले फोन राखेँ है ।’
आमा गाउँमा गएर छोराले स्विटर पठाइदिने, मोबाइल पठाइदिने, भाइको छोराको एडमिसन गरिदिने, बाउले किनेको जग्गामा पैसा थपिदिने कुरा सुनाउँदै हुन्छिन् ।
त्यही मौकामा छोराको फोन आउँछ, ‘आमा ! अहिले गाउँ आउने मान्छे यहाँबाट जाँदै छ बुबालाई स्विटर पठाइदिँदै छु है ।’