बिनोद खनाल
हाल सेन्टलुईस अमेरिका
सँधै चुहने भयो घर यो नछाई राख्न मिल्दैन॥
निजी इच्छा सबैलाई सुनाई राख्न मिल्दैन॥
सबैको हुन्छ नै आफ्ना नितान्त तीव्र चाहना,
बिना इच्छा जबरजस्ती कजाइ राख्न मिल्दैन॥
उदायो सुर्यको किरण भयो सर्वत्र उज्यालो,
बिहानी भो अझै पर्दा लगाई राख्न मिल्दैन॥
बिछोडको यादमा जल्दा खरानी हुन्छु झैँ लाग्छ,
रसाएका नयनलाई लुकाई राख्न मिल्दैन॥
ज़मानाका चलनचल्ती समयका साथ उल्टिन्छन्,
बुहारीले सधै घुम्टो झुकाई राख्न मिल्दैन॥