वैजयन्ती माला

बिरूवा जन्मँदै उभिन्छन्
आफ्नै खुट्टामा टेक्छन्
मानिस निरीह जन्मन्छ
जन्मदाताको पालनपोषणले
उनैको सुरक्षा र मायाले
बल्लतल्ल उभिन सिक्छ
उभिन सकेकोमा बहुत रमाउँछ
बाआमा र आफन्त रमाउँछन्
आफ्नै खुट्टामा उभिने भो भनेर
तर खुट्टामा उभिन
त्यतिले कहाँ सक्छ मानिस !
उसलाई वयस्क होइन्जेलसम्म
स्याहारसुसार गरिरहनुपर्छ
कसैलाई जीवनभरि पनि
हेरचाह गर्नुपरेको देख्छु
ती बाआमा
जिउँदै मर्नुपरेको देख्छु
थोरै मात्रले
बच्चैदेखि
दह्रा खुट्टा टेक्छन्
र खुट्टा लरबराउँदैनन् ।
हाम्रा बच्चाहरु
यस्तै भइदिउन्
हामी कामना गरिरहन्छौँ ।

बोटबिरूवा धर्तीमा जरा हाल्छन्
ती धर्तीमै भर पर्छन्
धर्ती त दिगो स्रोत हो
जे पाउँछन्

धर्तीबाटै अवचुषण गर्छन्
त्यसैमा सन्तोष गर्छन् ।
जस्तोसुकै घामपानी होस्
हावाहुरीको झोक्का होस्
असिनाको ठक्कर होस्
आफ्नो धर्ती छोड्दैनन्

मानिस धर्तीमा टेक्छ
बोटबिरूवाले दिएको
रोजी रोजी खान्छ
र तिनकै भर पर्छ
तर
धर्तीमा जरा हाल्न सक्दैन
कहिले यता बसाइँ सर्छ
कहिले उता सर्छ
आफ्नो धरातल चिन्दैन
मातृभूमिको विश्वास गर्दैन ।

यो धर्तीमा मानिसलाई
बोटबिरूवाले
असाध्यै माया गर्छन्
उपहारैउपहार दिन्छन्
मानिस स्वार्थी छ
मानिस लिन जान्दछ
दिन जान्दैन ।
बोटबिरूवालाई
स्वार्थपूर्ण
माया त देखाउँछ
तर जतन गर्दैन
बन विनाश गर्छ
डढेलो लगाउँछ
फडानी गर्छ
आफूलाई जीवन दिने
रैथान् बिरूवाको पनि
विनाश गरिदिन्छ
विकासे बोटबिरूवा लगाउँछ
विकासेको भर हुँदैन
कहिले लटरम्म फल दिन्छ
कहिले दिँदै दिँदैन
मानिसको स्वार्थी मायाले
आफै ठगिइरहेको
ऊ पत्तो पाउँदैन ।
ए मानिस !
तिमीले
बोटबिरूवाबाट
धेरै सिक्नु छ, सिक ।

Facebook Comments Box

Similar Posts