समा श्री

गिलो छातीमा छोडेका पदछाप
अब गिलो रहेनन्
चट्टान भएका छन्
कठोर अति कठोर भइसके
आँखा भने अझै गिला छन्
सप्को भिजाउँदै
जब नानीहरु अबोध प्रश्न गरिदिन्छन्
‘बा खै ?’ भनेर
आँसुको स्रोत चहार्छु
तब कलेजी रेटिन्छ
अनि भेट्छु
थुप्रै बिझाउने कुराहरु
आँखालाई धेरै कुराले बिझाउँदा रहेछन् …
शब्द त फूलभन्दा कोमल हुनुपर्ने

तर होइन रहेछ
कोमलता जिब्रोले मात्र सम्हाल्दो रहेछ
बचन त हृदय भेद्ने धारिला वाण रहेछन्
भित्रभित्रै पहिरो जान्छ
सेती खोँचझैँ
नसा नसामा लावा बनेर
प्रश्न दगुरिदिन्छ
चट्टान हृदयबाट प्रवाहित रसले
आँखालाई गिला बनाउँछन्
आँखालाई प्रश्नले पनि बिझाउँदो रहेछ
तिमीले के गर्यौ ?
गर्न हुने गर्यौ कि
गर्न नहुने गर्यौ ?

तिम्रो मृत्यु
अनेक उपमा र अलङ्कारयुक्त छन्
मानिसहरु त्यसै भन्छन्
मृत्युलाई वरण गर्नु
के तिम्रो महानता हो ?
या प्राप्तिको लागि बलि ?
मलाई सोध्न मन लाग्छ
त्याग गरेर तिमीले के पायौ ?
त्याग गरेर तिमीले के दियौ ?
तिमी कहाँ छौ थाहा छैन
तर नानीहरुका प्रश्नको जवाफ दिन
यहाँ कोही छैन
यहाँ कोही पनि छैन
एकलासमा तिम्रो अनुपस्थिति
आँखालाई गिला बनाउँछन्
आँखालाई अनुपस्थितिले पनि बिझाउँदो रहेछ

ओठलाई बलजफ्ती जोडेर
शब्द नखस्ने बाँध बनाउन
दुष्कर हुँदो रहेछ
यहाँ त बाध्यताले
ओठ सिइदिएका छन्
भित्र गहिरो कालो गाढा मौनता
प्रतिपल जन्मिँदै छ
मौनता अर्थहीन हुँदैन
मौनता निर्बल पनि हुँदैन
यो बडो निर्दयी हुन्छ
यो बडो जन्ड हुन्छ
दुष्परिणामको भयले
मेरो हृदय काँप्छ

म जबरजस्ती मौनतालाई सुस्केरामा बेरेर
फुस्स उडाइदिन्छु
माउ माकुरी बनेर
रक्षा गर्छु नानीहरुको
र उनीहरुलाई हेर्छु
प्रश्न गर्दा गर्दा
उत्तर नपाएर निराश नानीहरु
आजकाल प्रश्न गर्दैनन्
कहिले एकटक भित्तातिर हेरिरहेका हुन्छन्
कहिले आकाश हेर्दै टोलाइरहेका हुन्छन्
थाकेर जब उनीहरु
मेरा आँखामा हेर्छन्
तब शून्यता
आँखालाई गिलो बनाउछ
आँखालाई शून्यताले पनि बिझाउँदो रहेछ

सुनकोसी
पहिरो नजाँदा पनि बगेको थियो
सुनकोसी
पहिरो गएपछि पनि बगिरहेकै छ ।

Facebook Comments Box

Similar Posts