भोगेन्द्र लिङ्देन
(हाल क्यानवेरा, अष्ट्रेलिया)
मधुमासको
त्यो प्रथम मिलन
चिप्लो चिप्लो रात
ब
गि
र
हयो
सु
लु
लु
आदि……आदिम
मानव जोडीझैँ
‘आदम’ र ‘इभ’ झैँ
‘मेच्छामगेन नाम याप्मी’ र ‘मेलिङ्गेन कुमेत”
सृष्टिको प्रहरमा
त्यो स्वर्गीय रातसँगै
भविष्यको सन्ततिले
सोधिरहेको थियो
कि ?
‘म को हुँ ?’
प्रभाकरण ?
बिन लादेन ?
जर्ज बुस ?
सद्दाम ?
पोलपोट ?
बुद्ध ? गान्धी ?
इदि अमिन ?
बिल गेट्स ?
या सलमान रुस्दी ?
निरुत्तर छु म
ऊ सोधिरहन्छ ?
कि
‘मान्छे हुनलाई के चाहिन्छ ?’
देश ?
अणु-बम ?
एके ४७ ?
आत्मघाती आक्रमण ?
इन्टरनेट ?
टी.भी., फ्रिज ?
वासिङ मेसिन ?
या काठमाडौँमा एउटा घर ?
निन्द्रामा हो या
तन्द्रामा हो
साँच्चै
म त्यतिखेर भ्रममा थिएँ
सायद ऊ के बन्छ भनेर ?
उसलाई के बनाउने भनेर ?
तेन्जिङ ?
ज्याक डेरिडा ?
के दिऊँ उसलाई ?
खिया परेको एके ४७ ?
या मसी सुकेको कलम ?
के दिऊँ ? हो, साँच्चै
साइबर च्याटिङ वा
हजुरआमाको परीकथा ?
के माग्छ उसले ?
नाइटभिजन हेलिकप्टर ?
बारुद ?
या बुद्धको दर्शन ?
अनि के बनाउँछ उसले ?
एम्बुस ?
या आत्मघाती आक्रमणको योजना ?
हो,
केही त उसले माग्छ नै
यदि सानैमा पुतली ठानेर
खेलाएको बम पड्केर
मरेन भने
केही बन्छ नै ऊ
तर
आखिर ऊ बन्छ त के ?
हो,
त्यही बेलादेखि
तिम्रो गर्भमा मान्छेजस्तै
तर अरू नै केही बाँचेको छ
उत्तरआधुनिक भ्रम हुर्कंदै छ
भयानक भ्रम बोकेर
भयानक यथार्थ बोकेर
झि…..नो आशा बोकेर ।
* किरात लिम्बू मुन्धुमका अनुसार सृष्टिको प्रथम मानव जोडी ।
प्रकाशित २०६२ माघ अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)