भोगेन्द्र लिङ्देन
छोरी,
कसैले तिमीलाई
तिमी त धेरै नबोलेकै राम्री देखिन्छ्यौ भन्यो भने
विचार गर
ऊ तिम्रो जीवनबाट आवाज खोस्न उद्यत छ ।
छोरी
कसैले तिमीलाई
तिमी त धेरै नहाँसेकै राम्री देखिन्छ्यौ भन्यो भने
विचार गर
ऊ तिम्रो जीवनबाट खुसी खोस्न लालायित छ ।
छोरी
कसैले तिमीलाई
तिमी त गीत नगाएकै राम्री देखिन्छ्यौ भन्यो भने
विचार गर
ऊ तिम्रो सङ्गीतबाट धुन चोर्न चाहन्छ ।
छोरी
कसैले तिमीलाई
यस विषयमा धेरै सोच्नै पर्दैन भन्यो भने
विचार गर
ऊ तिम्रो सोच्ने क्षमतालाई धराशायी बनाउन चाहन्छ ।
छोरी
ती मान्छेहरुका कुरा सुन्न छाडिदेऊ
किनकि
अरुले बनाएको साँचोमा
तिमीले आफूलाई ढाल्नु पर्दैन
अनि आफ्नै मनको आवाज सुन
तिम्रो मनको आवाज
तिम्रो सच्चा मार्गदर्शक हो
जो कहिल्यै झुटो बोल्दैन ।