राकेश कार्की
(लस एन्जेलस, अमेरिका)
बदलेर कहाँ बदलिन्छ र ?
बदलिन खोज्छन् मानिसहरु
गाउँबाट आएको दुईचार महिनामै
सहरिया बन्न खोज्छन्
आखिर के कमी थियो र गाउँलेपनमा
देश छाडेको केही दिनमै
विदेशी नै हुँ जस्तो गर्छन्
आखिर देशकै हुँ भन्दा कहाँ घटिन्छ र ?
सहर पुगेपछि
छाडिदिन्छन् धोती र सुरूवाल
पाइन्टमै सान बढे झैँ ठानी
शुद्ध गाउँको ठेट बोली छाडी
जानी नजानी अङ्ग्रेजी मिसिएको नेपाली
शुद्ध स्वस्थ्यकरभन्दा
रेस्टुरेन्ट र बजारिया खानाको रवाफ ।
विदेशमा त झन्
को लोग्नेमान्छे को स्वास्नीमान्छे
पाइन्ट लाउँदालाउँदै कति लोग्नेमान्छे
सारीचोलो लाउने कति स्वास्नीमान्छे
त्यति सभ्य वेषभूषा छोडी
एकैचोटि कट्टुमा झर्छन्
नेपाली टोनमै कनिकुथी अङ्ग्रेजी
बिच्च बिच्चमा नेपाली मिसाउँछन्
कपालमा रातो दल्ने कति
अनुहारमा गोरो दल्ने कति
हलिउड लेखेको टिसर्ट लगाउने
नक्कल गर्दै जिब्रो बटारेर बोल्ने
आफूलाई विदेशी नै हुँ भनी ठान्ने ।
तर पनि काग कालै हुन्छ
बकुल्ला सेतै हुन्छ
कागको हुलमा बकुल्ला चिनिहालिन्छ नि ?
बदलेर कहाँ बदलिन्छ र
यो रुप यो बोली
यो संस्कृति यो रीतिरिवाज
आफ्नो विशेषता आफ्नो गाउँ
आफ्नो देशको पहिचान झल्किहाल्छ
हाम्रो हाउभाउमा
हाम्रो प्रव्रिmयामा
किनकि हाम्रो शरीरमा
हाम्रो रगतको कण कणमा
आफ्नै गाउँ आफ्नै देश बगिरहन्छ
जन्म जन्ममा
सन्तान दरसन्तानको रगतमा
बगिरहन्छ जुग जुगसम्म
बदलेर कहाँ बदलिन्छ र ?