सागर फुयाल
(काठमाडौँ)
ढुङ्गा खोज्दा देउता मिल्यो
यो उहिलेको कुरा
खुइलिसक्यो
आज,
देउता खोज्दा ढुङ्गा मिल्छन्
ती पनि किसिम-किसिमका
कुनै ढुङ्गा, अजङ्गको
बाटोमाथि टुक्रुक्क बसे जस्तो
थिच्ला जस्तो
किच्ला जस्तो
आँखा तरे जस्तो
दाह्रा किटे जस्तो
र्याल चुहाए, मुख मिठ्याए जस्तो
आतङ्क र डरको घर जस्तो
कुनै ढुङ्गा छोपिएको हुन्छ लेउले
र देखिन्छ एउटा
प्रौड, अनुभवी र शालीन मानिस जस्तो
खोला तर्न त्यसमा टेक्यो
चिप्ल्याई लडाइदिन्छ
खोलामै पुर्याइदिन्छ
पारी पुग्नुको विकल्प पनि छैन
त्यसैले, त्यसमा नटेकी सुख छैन
हो, ढुङ्गा
महादेवको हलाहल विषभन्दा कम छैन
कुनै ढुङ्गा जस्तो लाग्ने ढुङ्गा छ
र ढुङ्गा भएको विश्वास गर्दै
घर, मन्दिरका जगमा हाल्छन् मान्छेहरू
अफसोस,
फसफस गर्दै ढुङ्गा
धुलिन थाल्छ माटो जस्तै
कुनै ढुङ्गा पहिरो बनेर पहाड तान्दै
खस्छ मूल बाटोमा
र रोकिदिन्छ यात्रा सपनाहरूको
कोरिदिन्छ परिधि विश्वास र सम्बन्धहरूको।


