बिके श्रेष्ठ ‘पासा’

एउटा विखण्डित चलचित्र,
सायद अन्त्य नहोला यो,
किन्तु, परन्तु र भवतुमा,
अल्झनुसिवाय रहेन केही,
तुक्का, मुक्का र हुक्कामा..
अट्याक अट्टालिकामा,
नायक खलनायकको अपारदर्शितामा,
चलचित्र ओहोरदोहोर गरेको छ !
कहिले नायिका..
बुझ पचाउँदै व्यङ्ग्य छर्छे,
कहिले लाज पचाउँदै मुस्कुराउँछे,
दर्शक बिचरा ! कन्फ्युजनमा…
‘हि..हि..’ को पाश्र्वध्वनि,
महानायकको वाणमय शङ्खध्वनि,
मानौँ कि, थ्रिलर एक्सनको पर्खाइमा,
कान तेस्र्याएर उभिँदो छ !
असामान्य प्रवृत्तिको दृश्य हेर्न,
अबुझ जनदर्शकहरु….
पर्दाविहीन छ दृश्य,
चोइटिएका इज्जतलाई,
ढाक्न खोजे झैँ छ,
चारकोसे झाडीका स्याउलाले,
संविधान जलाउने हातलाई,
पदको मलमले बेरिएको छ,
लाठी, भाला र भट्टा भुलिएको छ !
कुन एक्सन लिने हो त..
हिउँका ढिकालाई पनि,
धोतीका सप्काले छोपिएको छ,
दृश्यले फड्को मारेको छ,
फालिएको थुक चाटिएको छ !
अब त धारा उपधाराको पाइप पनि,
अक्सिजनको सिलिन्डरमा जोडिएछ क्यारे,
शब्द पनि ध्वंस हुन लागेछ,
त्यसैले त, चलचित्र अपवाद बनेको छ,
हेरौँ त वाक्कदिक्क भएको छ,
नहेरौँ त खाई नखाई टिकट खरिदिएको छ,
कर राजस्वको भौचरमा…
हिजो मुखले, आज बधाई दिएका छन् !
ज्यानमारालाई काखी च्यापेर,
भ्रष्टाचारीलाई अँगालो हालेर,
व्यक्तित्वलाई लिलाम गरेर,
श्रद्धा गरिरहेका छन् यहाँ,
चलचित्र अल्पान्तरमा अल्मलिएको छ,
सायद यो माटोमा.. दौरासुरूवाल बनेन,
फरिया फाटेछ क्यारे, निर्वस्त्र छ संविधान… !
निर्लज्ज आख्यानहरु,
मात्रै ‘गोपिकृष्ण’को रटाइ छ,
चकलेटी चम्चेको खटाइ छ,
विनाकारण ताली बजाइ छ,
सायद यो चलचित्रको क्लाइमेक्स हुँदो हो,
पात्रविनाको कथा होला सायद,
राजनीतिक परिशिष्टभित्र,
उदाङ्गिएको चरित्र… !
खै, अन्त्य होला कि नहोला,
नायकको सिमाना नै कहाँ छ ?
अनुसन्धान गर्नै घिनलाग्दो छ,
बाँकी दृश्यले देखाउलान् खै के,
यति बेला त मात्रै…
असामान्य मध्यान्तर छ ।

Facebook Comments Box

Similar Posts