अनुप सुब्बा
(नागरी फार्म, दार्जिलिड, भारत)

अचेल,
मान्छेले डिजिटलाइजेसन्
आँखाले हेर्छन्
पवित्र साइनो
चोखो नाताले हेर्दैनन् ।

मादल बज्छन्
समला तालमा
तर
विभेदको कम्मर
आँगनैभरि मर्काउँछन् !

संस्कृतिको अनिकाल लागेर
मान्छेहरु
मान्छेहरुकै पाइतालामुनि
खुत्रुक खुत्रुक पर्छन्
एक मुठी साँचो
मान्छेत्वको डरलाग्दो खाँचोमा
मरेतुल्य हुन्छ
मान्छे ।

मान्छे त मान्छेमा
नाटक बन्छन्
मान्छे त मान्छेमा
तौल बजार बन्छन्
मान्छे नै भिडभाडमा
मजा लिन्छन् र रमाउँछन् ।

अचेल,
बाजेको पुरानो कोटजस्तै
फालिन्छन्
सम्बन्ध

आफ्नोत्वको न्यानो हात
पल्लो खोल्सातिर
खोज्दाखोज्दै हराइपठाएका
शताब्दीको रोबोटजस्तो
बाँच्दै छन् कि बाँच्न बिर्सेर
मान्छेजस्तो ।

Facebook Comments Box

Similar Posts