निरन्जन अधिकारी
(अम्बिकाश्री कृपा, सिफल)
मेरो गौरवको पहिरन
त्यो ढाका टोपी र
मयलपोश सुरुवाल !
आफ्नै ईज्जत गुमाए झैं
लज्जित देख्छु !
बिधर्मी ब्वाँसाहरुको
शरिर छोप्दा
लाज छोप्न असमर्थ छ !
हिजोआज
झुकेका झैं लाग्छन्
राष्ट्रिय ध्वज !
लज्जित छन्
यिन्का कर्तुतले
आवाश,मन्त्रालय र
दुतावास अनि
सचिवालय प्राङ्गणमा
ठडिएका अनि
टेबल माथी सजाईएका
साथै यिन्ले कोटमा भिरेका
राष्ट्रिय झण्डाहरु !
मेरो स्वाभिमानी शिर
लज्जित छ,
निहुरिएको छ !
मानव तस्करको
बिल्ला लागेको
मेरो थरले
मलाई गिज्याइरहेछ !
नवराजा बन्ने शोख पालेका
टिभिका पर्दामा देखिने
प्रत्येक राजनैतिक
अनुहारहरु
देख्दा घृणा लाग्छ !
तिन्का मुखबाट
सधैं झैं निस्किने
सुशासनसंगैं
कालाबजारी र भ्रष्टाचार
बिरुद्ध
शुन्य सहनशिलताका कुरा !
सुशासनका राग अनि
आलापहरूको भाषण गर्दै
जनताका पीडा र आघातहरूको
व्यापार गरी रहेछन् !
यसै गरीगरी पालैपालो
पालैपालो बलात्कार गरिरहेछन्
मेरो देश हाँकिरहेछन् !
सर्वसम्मत!? हाँकिरहेछन् !!!


