भोगेन्द्र लिङ्देन

गत जुन महिनाको पहिलो हप्‍ताको एक दिन दिनभरिको कार्यव्यस्तताले थकित महसुस भए पनि सहृदयी मित्र दिनेशले साँझमा अक्ल्याण्डस्थित् स्काई टावर (Sky Tower) हेर्ने प्रस्ताव गरेपछि मनबाटै थकान गायब भयो । अक्ल्याण्डको व्यस्त सडक छिचोल्दै करीब आधा घण्टाको यात्रापछि साँझ ५:३० बजेतिर हामी स्काई टावर पुग्यौं । स्काई टावर टाढैबाट सुन्दर र भव्य देखिन्थ्यो ।

दूरसंचार तथा दृश्यावलोकनको प्रयोजनका लागि बनाईएको ३२८ मिटर (१,०७६ फिट) उचाईको स्काई टावर न्युजिल्याण्डको सबैभन्दा अग्लो तथा विश्‍वकै अग्लो टावरहरूमध्येमा पर्छ । सन् १९९७ मा निर्माण सम्पन्‍न भई सर्वसाधारणको लागि खुला गरिएको यस टावरमा दैनिक १ हजारभन्दा बढी तथा प्रतिवर्ष ४ लाखभन्दा बढी मानिसहरू यहाँबाट देखिने अक्ल्याण्ड सहरको सुन्दर दृश्य हेर्न आउँछन् ।

टावर प्रवेशको टिकट लिएपछि भुई तलामा एक फोटोग्राफरले केही फोटोहरू खिचिदिए । त्यसपछि सोही टावरमा कार्यरत टासी भाईसँग मित्र दिनेशले परिचय गराईदिए । टासी भाईले टावर घुमेर फर्कने बेलासम्म फोटो तयार गरिदिने बताएपछि हामी दुई जना स्काई टावरको लिफ्टतर्फ लाग्यौं । स्काई टावरको ५०औं तलामा Sky Cafe छ भने ५१औं तलामा मुख्य अवलोकन कक्ष रहेको छ । ५२औं तलामा प्रत्येक १ घण्टामा ३६० डिग्री घुम्ने Revolving Restaurant छ भने ५३औं तलाबाट Sky Walk र Sky Jump गर्ने सुविधा उपलब्ध छ ।

हामी ५०औं तलाको Sky Cafe मा केहीबेर सुस्ताएपछि ५१औं तलाको मुख्य अवलोकन कक्षतिर लाग्यौं । अवलोकन कक्षबाट देखिने बाहिरको दृश्य ज्यादै रमाईलो थियो । साँझ परिसकेकोले अक्ल्याण्ड सहर रङ्गीन बत्तीहरूको चम्किलो प्रकाशले धपक्कै बलेको देखिन्थ्यो । अवलोकन कक्षमा रहेको बाइनाकुलरले टाढा-टाढा रहेको दृश्य पनि आफ्नै नजिकै ल्याईदिने । एकातर्फ हेर्दा अक्ल्याण्डको मुख्य सहरी क्षेत्र देखिन्थ्यो भने अर्कोतर्फ प्रशान्त महासागरतर्फको हार्बर ब्रिज र अक्ल्याण्ड बन्दरगाहको लोभलाग्दो दृश्य देखिन्थ्यो । करीब ४० मिनेट त्यहाँबाट देखिने सुन्दर दृश्यलाई आँखाभरि राखेर हामी तल लाग्यौं ।

भुई तलामा टासी भाईले अघि खिचेको फोटोहरू सुन्दर कोलाजमा प्रिन्ट गरेर स्काई टावरको बारेमा विभिन्न जानकारीहरू सहितको एल्बममा हालेर ‘मेरो तर्फबाट उपहार भयो’ भन्दै दिए । मैले हार्दिकतापुर्वक उनलाई धन्यवाद दिएर विदा हुँदा उनले मन्द मुस्कानसहित फेरि पनि आउनुहोला है भन्दै बाईबाई गरे ।

बाहिर निस्कँदा अक्ल्याण्डको आकाशमा मधुर चन्द्रमा मुस्कुराईरहेको थियो ।

Facebook Comments Box

Similar Posts