शङ्कर शर्मा
(पत्थरझोडा, डुवर्स)
बल्लबल्ल उनले कोठामा सरसमान मिलाइसकिन् । किरायामा लिएको कोठामा उनी आजदेखि बस्न आएकी थिइन् । भर्खर सोलहको वसन्तमा पाइला टेकेकी रिनाले एधार पढ्न भनी फरेस्ट बस्तीबाट कालेम्पोङ आएकी थिइन् । अग्ली कद भएकी हेर्दा गहुँगोरी, दुब्ली पातली, कम्मर छिनेकी, कपाल लामो भएकी रिना असाध्यै सुन्दरी थिइन् । ससाना कुरामा रिसाइहाल्ने उनको नराम्रो बानी थियो । उनी सानो छँदा नै उनका मातापिता परदेश लागेका थिए । उनलाई बाजेबज्यैले हुर्काएका थिए । गाउँको माध्यमिक पाठशालाबाट माध्यमिक परीक्षा उतीर्ण गरिसकेपछि उनी एधार कक्षामा यहाँ पढ्दै थिइन् ।
उनी आज साह्रै थकित भइन् । पलङमा ढल्केर मोबाइल चलाइरहेकी थिइन्, निदाइछिन् । अचानक घरभेटी दिदीले मध्याह्नको खाना खान बोलाउँदा उनी झस्केर ब्युँझिन् । घरभेटी दिदीको नाम विनिता थियो । टेबलमा खाना सजाएर उनले रिनालाई पर्खिरहेकी थिइन् । गाउँका एकजना आफन्तबाट रिना यस घरमा आइपुगेकी हुनाले उनको दिदीसँग राम्रो परिचय थिएन । सायद पहिलो दिन भएर होला रिनालाई धेरै अप्ठ्यारो लागेर आयो ।
‘आऊ बस’ भन्दै दिदीले बस्न कुर्सी झिकिदिइन् ।
‘अप्ठ्यारो मान्नुपर्दैन आफ्नै घर सम्झ न ।’ उनले फेरि कुरो थपिन् ।
दिदी पनि भर्खर चौबिसपच्चिस वर्षमात्र पुगेकी रहिछिन् । अप्ठ्यारो मान्दै मान्दै रिनाले खाना खाइसकिन् । त्यसपछि दिनभरि दुईजना बात गरिबसे । उनी घरमासात वर्षीय छोरो विशाललाई लिएर बस्दै आएकी रहिछिन् । उनका पति रमेश भारतीय सेनामा हुनुहुँदो रहेछ । दिदी दुई जिउकी छिन् भन्ने कुरा पनि रिनाले थाहा पाइन् । खास घर अलगडा भए पनि विगत पाँचछ वर्षदेखि यहाँ बस्दै आएको कुरा दिदीले रिनालाई बताइन् ।
‘मलाई पनि एक्लै बस्न अल्छी हुन्छ नि अब तिमी साथी हुने भयौ ।’ दिदीले भनिन् ।
रिना खिस्स हाँसिरहिन् ।
बेलुका रिनाले घरधन्धामा सघाउ पुर्याइन् । दिनदिनै उनीहरुको घनिष्टता बढ्दै गयो । रिनाले प्रायःजसो सबै घरका काम गरिदिन थालिन् । दिदी अत्यन्तै खुसी भइन् । उनी अब सबै कुरामा रिनामाथि भर पर्न थालिन् । बिस्तारै छुट्टीका दिनमासँगै घुम्न जान थाले उनीहरु । बजारपात जाँदा पनि दिदीले रिनालाई साथ लिएर जान्थिन् । उनलाई मनपरेको सरसमान किनिदिन्थिन् । रिनालाई रमाइलो लाग्न थालेको थियो ।
एक दिन दिदीसँगै उनीहरु सुत्ने कोठामा पसिन् । त्यहाँ पतिपत्नीको ठुलो तस्बिर रहेछ । उनी प्रायःजसो पतिको गुण गाइबस्थिन् । रिनाको मनमा अस्तिदेखि रमेशलाई हेर्ने इच्छा थियो ।
‘साँच्चै उनले वर्णन गरेजस्तै रहेछन् ।’ तस्बिर हेरेर मनमनै भनी ।
‘खुब ध्यान लाएर पो हेर्यौ त ।’अचानक दिदीको कुरा सुन्दा रिना झसङ्ग भइन् ।
‘रमेश दादा तपाईंले भनेजस्तै रहेछन् नि त ।’भन्दै उनी दिदीछेउको पलङमाथि आएर बसिन् ।
त्यसपछि दिदीले उनीहरुको बिहेको किस्सा सुनाउन थालिन् । दिदीको मुखबाट नित्य रमेशको कुरा सुन्दा सुन्दा रिनाको मनमा रमेशप्रति अझ कौतूहल बढ्दै थियो । दिनभर पाठशालामा पनि दिदीका कुरा उनको मस्तिष्कमा घुम्न थालेको थियो ।
एक दिन अचानक दिदीले भनी,‘यो महिनाको अन्ततिर रमेश घर आउनुहुन्छ बहिनी ।’
दिदी हर्षित थिइन् । रिना पनि उनीसँगै खुसी भइन् । उनको मनमस्तिष्कमा रमेशलाई हेर्ने चाह थियो । दिनप्रतिदिन यो चाहना प्रबल हुँदै थियो ।
एक दिन साँझ कोठामा रिना पढिरहेकी थिइन् । दिदी खाना बनाउँदैथिइन् । बाहिर कसैले बोलाएको सुनिन् । झ्यालबाट चियाइन् तर अनुहार देखिनन् । त्यो मान्छे सरासर भित्र पस्यो ।
केहीबेरमा ‘रमेश दादा’भनिरहेकी दिदीको ठुलो स्वर रिनाको कानमा पर्यो ।
रिना अत्तालिइन् । एकपल्ट त कुदेर बाहिर जान मन लाग्यो । फेरि किन हो उनलाई मनभित्रबाट डर लागेर आयो । उनलाई किन त्यस्तो लाग्यो, आफैले बुझ्न सकिनन् । केहीबेरमा दिदीले रिनालाई बोलाएर रमेशसँग परिचय गराइन् । रिनाले अप्ठ्यारो मानी मानी ढोगिन् ।
उनीहरु पतिपत्नी गफ गर्न थाले । रमेशले छिटो आउनुको कारण बतायो । आफ्नो यात्राबारे सुनाउँदै थियो । रिना त्यहीँ बसेर रमेशलाई हेर्न थालिन् ।
छब्बिससत्ताइस वर्ष पुगेको रमेशको शरीर हृष्टपुष्ट थियो । चौडादार छाती र अग्लो कद भएको रमेश कालो कालो वर्णको थियो । धेरैबेरसम्म रिनाले रमेशलाई हेरिबसिन् ।
आज आधारात बितिसक्दा पनि निद्रा लागेन रिनालाई । कतिबेला बिहान हुन्छ जस्तो लाग्न थाल्यो । भोलिपल्ट आइतबार थियो; बिदाको दिन । सबै बिदाको दिन ढिलो उठ्ने गर्छन् तर उनलाई भने कतिबेला उठ्नु जस्तो भइरहेको थियो ।
दिदी अब कामधन्दा गर्न नसक्ने अवस्थामा थिइन् । त्यसैले घरको सबै काम रिनाले गरिन् । फुर्सदमा रमेशसँग बात गर्ने मौका मिल्यो । बात गर्न पाउँदा उनलाई खुसी लाग्यो । रमेशलाई बेला बेला चियापानी सोध्न थालिन् । छोटो समयमै उनीहरुका बिचको घनिष्टता बढ्यो ।
अब विनिता दुई जिउकी भएको नौ महिना पुग्न लागेकोले गर्दा रमेश चिन्तित थियो । नभन्दै एकदिन उनी पेट दुख्यो भन्न थालिन् । रमेशले हतार हतार अस्पताल पु¥यायो । डाक्टरले जाँच गर्यो । ‘भर्ती गर्नू’भन्दा रमेशले विनितालाई अस्पताल भर्ती गरायो ।
विशाललाई लिएर रिना बिहानदेखि नै घरमा थिइन् ।
छिमेकको एकजना दिदीलाई विनिताको साथमा छोडेर रमेश बेलुकी घर फर्कियो । रिनाले रमेशका निम्ति टेबलमा खाना लगाइदिइन् ।
‘तिमी खाँदैनौ ?’ कुर्सीमा बस्दै गर्दा उसले सोध्यो ।
‘तपाईं खानुस् न म अहिले खान्छु ।’उनले जबाफ दिइन् ।
‘के भयो तिमीलाई चुपचाप छौ, अनुहार पनि अँध्यारो देख्छु त ।’ रमेशले अझ सोध्यो ।
‘हैन, केही भएको छैन ।’ रिनाले भनिन् ।
रमेशको चित्त बुझेन । जुरूक्क उठ्यो र गएर रिनालाई हातमा समाई ल्यायो । आफूसँगै खाना खान लगायो । रिनाले जबरजस्ती दुईचार गाँस मुखमा हालिन् । कामधन्दा सकेर रमेशलाई केही नभनी रिना आफ्नो कोठामा पसिन् । रमेश पनि गएर विशालसँग सुत्यो ।
आधारात बितिसकेको थियो । रिनालाई आज पनि निद्रा लागेको थिएन । उनलाई आफूबाट भएको गल्तीको पछुतो भइरहेको थियो । आफ्नो मस्तिष्कलाई वशमा राख्न नसक्दा उनी दुःखी भएकी थिइन् । उनी के के सोचिरहेकी थिइन् । त्यतिबेला नै बाहिरबाट ‘ढक ढक’को आवाज आयो । रिना डरले थुरथुर भइन् । केही नबोली चुपचाप बसिरहिन् ।
फेरि बाहिरबाट ‘दैलो खोल न’भनेर आवाज आयो ।
रमेशको स्वर उनले चिनिहाली । फसाद पर्यो उनलाई । दैलो खोल्नु कि नखोल्नु?बाहिरबाट आवाज आइरह्यो । अन्तमा उनले दैलो खोलिदिइन् । रमेशले भित्र प्रवेश ग¥यो । पस्नासाथ उसले रिनाको हात समाई आफूतर्फ तान्यो । रिनाले फुत्किने चेष्टा गरिन् तर के सक्थिन् ?
‘तिमीले मलाई कुन नजरले हेर्छौ भन्ने थाहा छ । आज के भयो तिमीलाई ?’ रमेशले सोध्यो ।
रिनाले केही जवाफ दिन सकिनन् । आँखाबाट पिलपिल आँसु खसालिन् । रमेशले नाना थरीका कुरा गरेर फकाउन खोज्यो । जीवनभर साथ दिने कसम खायो । मन नमानी नमानी रिनाले अन्तमा आफूलाई रमेशको प्रेममा बली चढाइन् ।
दुई दिनपछि दिदीले छोरीलाई जन्म दिइन् । सबै हर्षित थिए तर रिना खुसी हुन सकिनन् ।त्यसपछि रिनाको कोठामा रमेशको आउजाउ भइरह्यो ।
दिदी दुईओटा नानीहरु हेर्न व्यस्त रहन्थिन् । अब त दिदी भनेर बात गर्नु पनि रिनालाई अप्ठ्यारो लाग्न थालिसकेको थियो । दुई महिना छुट्टी चाँडै बितेजस्तो लाग्यो रमेशलाई ।
आज उसको पल्टन फर्किने दिन थियो । ब्याग लिएर फर्कने तर्खरमा थियो । रिनाले झ्यालबाट हेरिरहेकी थिइन् । उनीहरु पतिपत्नी के के बात गरिरहेका थिए । धेरैबेरसम्म रिना बाहिर नआउँदा रमेशभित्र पस्यो ।
‘राम्रोसँग बस है अर्कोपालि भेटौँला ।’ यति भनेर रमेश बाहिर निस्क्यो ।
रिनाले हेरिबसिन् । हेर्दाहेर्दै ऊ बिदा लिएर घरबाट गयो । रिनालाई एकपल्ट त भक्कानिएर रून मन लाग्यो तर सकिनन् ।
पल्टन पुगेपछि रमेशलाई रिनाको यादले साह्रै नै सतायो । सुरू सुरूमा उसको फोन उठाउँदै थिइन् रिनाले तर पछिपछि भने रिनाले बात गर्न छाडिन् । अब उसले विनितालाई नै रिनाको हालखबर सोध्न थाल्यो । दिनहरु सामान्य बितिरहेको थियो तर अचानक उसको पल्टनको सरूवा भयो । करिब करिब हप्तादश दिन उसले घरमा फोन गर्न पाएन । ऊ धेरै नै चिन्तित थियो । मन विचलित भइरहेको थियो । दश दिनपछि बल्लबल्ल उसले फोन गर्न पायो ।
आज उसले सोध्नुअघिविनिताले रिनाको हाल सुनाइन्, ‘मैले रिनालाई घरबाट निकालिदिएँ नि ।’
यो शब्द सुनेर रमेशको होसले ठाउँ छोड्यो । डराई डराई सोध्यो उसले, ‘किन र, के भयो ?’
‘ए उसले त काम बिगारी छे नि ।’ फेरि भनी विनिताले ।
‘कस्तो काम भनिहाल न ।’ रमेश करायो ।
‘रिना अस्ति कक्षामै बिरामी भइछिन् जचाँउदा त उनी चारपाँच महिनादेखि दुई जिउकी रहिछिन् । सबैले सोधे कसको बच्चा हो भनेर तर उनले पटक्कै मुख खोलिनन् । पाठशालाबाट निकालिदियो उनलाई । अब यहाँ बसेर के गर्छौ घर जाऊ भनिदिएँ ।’सबै बताइन् विनिताले ।
उनले मुख खोलिन भन्दा ढुक्क मान्यो रमेशले । केही सोच्न सकेन उसले । तुरून्तै बिदाको निवेदन लेखी बुझायो तर भन्नेबित्तिकै बिदा पाएन । एक वर्ष प्रतीक्षा गरेपछि उसले घर फर्कने मौका पायो । दुई महिनाको बिदा लिएर एक साँझ ऊ घर आइपुग्यो । विनिताले खुसीले स्वागत गरिन् । घरले रिनाको याद झन् ताजा बनाइदियो । भोलिपल्ट साथीको घर जाने निहुँ गरी ऊ रिनालाई भेट्न फरेस्टबस्तीतर्फ लाग्यो ।
‘अब त पक्कै रिनालाई भेट्छु ।’मनमनै खुसी हुन थाल्यो ।
‘मलाई देखेर कति खुसी हुन्छिन् होली ।’ उसका मनमा अनेकौँ कुराहरु खेल्न थाल्यो । नोकडाँडा बस्ती पुगेपछि ऊ सोधखोज गर्दै रिनाको घरमा पुग्यो । आँगनमा एक जना बाजे डोका बुनिरहेका रहेछन् । रमेशले ढोग गर्यो र यताउता हेर्न थाल्यो । रिनालाई हेर्न ऊ तड्पिरहेको थियो । अब रिनालाई साथ लिएर जान्छु सदाका निम्ति भनी सोचिरहेको थियो । रमेशको बोली सुनेर भित्रबाट एकजना बज्यै निस्किइन् । रमेशले उनलाई पनि ढोगिदियो ।
‘भित्रै आउनू नि नानी ।’ बज्यैले भित्र बोलाइन् ।
जुत्ता बाहिर खोलेर रमेश भित्र पस्यो र कुर्सीमा बस्यो ।
रिनाका बारेमा सोध्नै लागेको थियो उसको आँखाअगाडि हार चढाएको तस्बिरमा प¥यो । तस्बिरबाट रिनाले उसलाई मुस्कान दिएर स्वागत गरिरहेकी थिइन् ।
भनिरहेकी थिइन्,‘तपाईं आउन साह्रै ढिला गर्नुभयो ।’
ऊ केही बोल्न सकेन । केवल उसको आँखाबाट पश्चात्तापको आँसु बररर झसिरह्यो । उसको मुखबाट बोली फुट्नै सकेन । ऊ अवाक बसिरहेको थियो । आफू बसेको कुर्सी कतै जमिन तल धसिँदै गएको हो कि जस्तो लाग्यो उसलाई ।