शरदकुमार छेत्री
(कालेबुङ, दार्जिलिङ, भारत)

सूर्योदयको प्रहर टाइगर हिलबाट
सुदूर उत्तरपश्चिममा देखिने रक्ताम्य सागरमाथालाई
ब्रह्मपुत्रको जलले आचमन गरी
टिस्टा रङ्गितको पानी पितृ सम्झी तर्पण दिने
हामी त्यही दशगजापारिका बासिन्दा हौँ ।

रोटी र बेटीको नाताको नाराले
एकआपसको सम्बन्ध धमिल्याउने होइन
भाषा, साहित्य अनि सङ्गीतको लयमा
हाडको सम्बन्ध अझ कसिलो बनाउने सोच लिएर
दशगजापारिबाट शुभकामनाको भारी बिसाउन
आएका छौँ ए हजुर !

हजुर हामी त्यही दशगजापारिका रचनाहरु
कोसेलीस्वरुप कुम्लाएर आएका छौँ
जहाँ दशगजा त के हजारौँहजार गजका
सिमाना साधे पनि हाम्रो सम्बन्धमा एक सुतको
दूरत्व कायम गर्न अशक्त बन्छ ।

धरणीधरले नैवेद्य अर्पण गरेका देवालय
तिलविव्रmमलाई वैरागत्व प्रदान गर्ने भूमि
तेस्रो नेत्र खोलिएर ईश्वरको,
साहित्यमा तेस्रो आयामको शंखनाद गर्ने धरती
दशगजापारिको त्यही पवित्र धरतीबाट
प्रसाद बाँड्न आएका छौँ ।

गोपालको बाँसुरीले धुन प्राप्त गरेका
अम्बरका अमर रचनाले गुन्जिएका
लैनिसिंहका कुचीद्वारा रचिएका सुन्दर भूमि
त्यही दशगजापारिका धुन, लय अनि क्यान्भास
बोकी आएका छौ ।
नितीनियम फरक भो त के भो
नातामा केही फरक परेको छैन
राष्ट्रगीतका धुन फरक भो त के भो
फरक छैन त हाम्रो लैबरी भाका
एकै सुरमा भाषा र साहित्य विकासको
गीत गाउन भनी आएका छौँ
आएका हौँ त्यही दशगजापारिबाट ।

Facebook Comments Box

Similar Posts