भोगेन्द्र लिङ्देन

अष्ट्रेलियाको उत्तरी क्षेत्र डार्विनको एक हप्‍ते बसाईलाई बिट मार्नुभन्दा अघिल्लो दिन गत अगष्‍ट महिनाको अन्तिम हप्‍ता क्यासुरिनाको समुन्द्री तटमा सूर्यास्त हेर्ने मौका जुर्‍यो ।

डार्विन आएपछि क्रोकोडाइलस पार्क (Crocodylus Park) र सुर्यास्तको सौंन्दर्य हेर्न छुटाउन हुन्न भन्ने सुनेको थिएँ । एक हजारभन्दा बढीको संख्यामा राखिएका साना बच्चादेखि अजंगको वयस्क गोहीहरू लगायत अन्य थुप्रै जीवजन्तु र चराहरू राखिएको क्रोकोडाइलस पार्क दिउँसो सहृदयी मित्र विष्णुले घुमाईसकेका थिए, अनेक किस्सा र जोकहरू सुनाउँदै । मन लागे जति फोटोहरू खिचिदिएका थिए उनले । अब बाँकी थियो साँझमा सुन्दर सुर्यास्त हेर्नु ।

हिजो नै डार्विनका युवराज भाईले क्यासुरिनाको समुन्द्री तटबाट देखिने सूर्यास्त ज्यादै मनमोहक हुने कुरा भनिसकेका थिए । त्यसैले पनि सूर्यास्त हेर्न मनमा हुटहुटी जागेको थियो ।

उत्तरी अष्ट्रेलियाको डार्विनस्थित टिमोर सागरको तटीय क्षेत्रमा पाईने Casuarina प्रजातिका रुखहरूबाट उक्त ठाउँको नाम नै Casuarina Beach रहन गएको भन्ने भनाई छ ।

क्यासुरिनाको समुन्द्री तटनेर पुग्दा स्थानीय समय अनुसार साँझको ६:३० बजेको थियो । घाम अझै एक जुवा माथि नै देखिन्थ्यो ।

जब घडीमा ६:४० बज्यो, तब घामले अस्ताउन लागेको संकेत दियो । त्यसपछि भने युवराज, आशिस र सन्देश भाईहरूसँग समुन्द्री किनारातिर लाग्यौं । वरपर थुप्रै मानिसहरू क्यासुरिनाको समुन्द्री तटमा बसेर सुर्यास्त हेर्न आईपुगेका थिए ।

घाम जति अस्ताउन हतारिदै थियो त्यति नै सुनौला रंगले सजिएका बादलहरूले आकाशलाई रंगीन, मोहक र मादक बनाउँदै थियो । नजिकैको समुन्द्री किनारमा रहेका क्यासुरिनाका रूखहरू तथा चट्टान र बालुवामा समुन्द्रका छालहरूले कोमल स्पर्श गर्दै थिए । सहरको व्यस्त जीवन र कोलाहलबाट टाढा शान्त वातावरणबीच हतारिदै टाढा क्षितिजतिर ओझेल हुन खोज्दै गरेको सुन्तला रङको घामले दर्शकहरूलाई प्रकृतिको भव्यताको बोध गराईरहेको क्षणलाई युवराज भाईले फोटोमा कैद गरिरहँदा म भने सूर्यास्तको मनमोहक दृश्य हेरेर रमाइरहेको थिएँ । तर समय ज्यादै हतारिएको थियो । शायद घामलाई कतै टाढा जानु थियो ।

हेर्दाहेर्दै घाम आधा भयो । अनि हेर्दाहेर्दै घाम टिमोर सागरको क्षितिजको तल डुबेर नदेखिने भयो । घाम नदेखिए पनि टिमोर सागरको सुनौलो क्षितिज पानीभरि छछल्किएर अझ मनमोहक भएको थियो । समुन्द्री छालको पानीसँग केहीबेर जिस्किन म भाईहरूलाई केही वरै छोडेर म छालहरूतर्फ अघि बढें । छालको चिसो पानीलाई स्पर्श गरिसकेपछि छालको पानीमा फोटो खिच्दै गरेका दुई युवतीहरूमध्ये एकलाई मेरो फोटो खिचिदिन आग्रह गरें । उनले मुस्कुराउँदै मेरो हातबाट मोबाईल लिएर केही फोटोहरू खिचेर दिइन् । मैले उनलाई भन्यवाद भन्दै बिदा लिएँ ।

क्यासुरिनाको सुनौलो घाम डुबेर क्षितिजमा हराएजस्तै म पनि आफैमा हराएको थिएँ केही समयको लागि । तर प्रत्येक सूर्यास्तले नयाँ बिहानी लिएर उदाउँछ र उदाउनैपर्छ भन्‍ने सोचेर कासुरिनाको समुन्द्री तटलाई बाईबाई गरें ।

Facebook Comments Box

Similar Posts