दिव्या माथुर
(बेलायत)
अब सायद
नवजात छोरीहरुको
हत्या हुने छैन
न त स्त्री भ्रूणको
गर्भमा समाप्त पार्ने
आवश्यकता हुने छ ।
काँसको थाल ठटाएर
छोरा जन्मेको समाचार
गाउँभरि दिने कार्यलाई
चिलिममा बन्द गर
अब जन्मने हरेक सन्तान
छोरा नै हुने छन् ।
बधाईका अनवरत ध्वनिले
अब गुञ्जायमान हुने छ संसार
बधाई छ
बधाई छ
छोरा भएकोमा
बधाई छ ।
संसारभर चाँडै नै
पुरूष क्लोन्स्को
बस्ती बस्ने छ
जहाँ
प्रतिलिपिमा आधारित
एक यस्तो पिँढी हुने छ
जसको न आमाको ठेगान
न त बाबुको पहिचान हुने छ ।
पृथ्वी रुपी सङ्ग्रहालयमा प्रदर्शन हुने
अलि अलि बाँचेका महिलाहरु
त्यस बेला पनि
मनोरञ्जनका साधन हुने छन् ।
मारपिट, हिंसा र युद्ध सङ्ग्राममा जुटेको
पुरूषप्रधान संसार
कहिलेसम्म टिक्ने छ र
तर अहिलेलाई
बधाईं छ, बधाई ।
(अनुवाद: कृष्ण बजगाईं)