अमित थेवे
(धरान, सुनसरी)
उहिले उहिले
हजारौँ वर्ष पहिले
सेन्छेङलुङको काँधबाट
अनि, कुहिना हुँदै हातबाट
बगेको थियो एउटा
हिउँका गोला बोक्ने खोला ।
सेतो काङ्वा
उँधो बगेपछि खोला निलो भयो
सायद पोखियो आकाशे रङ
अझ, तल बगेपछि हरियो भयो
सायद मिस्सियो लेउ खाने तिते माछा
वा, तैरियो पानीमाथि उत्तिस र काभ्राका पातहरु !
हज्जारौँ वर्षपछि,
जब मान्छेले लगायो फड्के, थाप्यो साँघु
तब,
काङ्वा केही धमिलो भएर बग्यो
उडेर स्वाद अमिलो भएर बग्यो ।
केही सालअघि,
जब पर्खालले थुनियो जिउ
तारले बाँधियो हात र खुट्टा
भ्वाङ पारियो भिरपहराको छाती
ब्लास्टिङ गरेर हल्लियो पहाडको गिदी
त्यसपछि,
काङ्वा रातो भएर बग्यो
मुटुको सातो उडेर बग्यो
कहिले बाटो बिराउँदै
कहिले गाउँ लडाउँदै
तम्मरलाई गुनासो सुनाउन
लामो लामो श्वास तानेर
हुत्तिएर बग्यो ।
आजभोलि,
काङ्वा चुपचाप छ
घामले पिल्सिएका ढुङ्गा र
तातिएका हलुवाजस्ता बालुवा
असरल्ल भुइँभरि
छाडेर गुमनाम छ ।
गाउँघरमा बराजु बाजे भन्थे –
‘माछा लुक्यो र खोला सुक्यो भने लोदर हुन्छ ।’
अब हेर्नु छ,
भुइँचालो भएर उँधोबाट
या, चट्याङ भएर उँभोबाट
धर्तीमा आइपुग्छ
काङ्वा !
काङ्वा – याक्थुङ (लिम्बू) भाषामा काबेली खोला जुन ताप्लेजुङको याङरुप क्षेत्रमा बग्छ र पाँचथरछेउ आएर तम्मरमा मिसिन्छ । पछि, यो खोला धनकुटा र सुनसरीको सीमामा आएपछि सप्तकोसीमा मिसिन्छ । हाइड्रोपावर परियोजनाका कारण केही वर्षयता खोला सुकेको छ ।
सेन्छेङलुङ – याक्थुङ भाषामा कञ्चनजङ्घा हिमाल जुन विश्वको तेस्रो अग्लो हो ।


