शम्भुराम जोशी


कान्छीभट्टीमा
मदको प्याला उचाल्दै
आफूले संसार जितेको सोच्न व्यस्त छ
उसका लागि
हिजोका ती विशालकाय पर्वतहरु
आज तुच्छ थुम्का भएका छन्
हिजोका विशालकाय महासागरहरु
बुढीऔँला पनि नडुब्ने
छिपछिपे खहरे भएका छन् ।

नसाको सुरमा ऊ
नाकको पोरा  फुलाउँदै
हुङ्कारले अकासिँदै
आफ्नै हातले
सगरमाथा छोइदिन्छु भन्छ
अगस्ति ऋषिले
एकै सासमा समुद्र पिइदिए जस्तै
ऊ पनि
समुद्र रित्याइदिन सक्छु भन्छ ।

यति मात्रै होइन

एकै फड्कोमा
विश्वलाई नाघ्न सक्छु भन्छ
उफ्रिएर अकासको जूनलाई
समात्न सक्छु भन्छ
अकासका ताराहरु टिपेर
आफ्नी प्रियसीका लागि
माला बनाइदिन सक्छु भन्छ
किनभने
उसलाई
कान्छीभट्टीको
मदको मात लागेको छ
उसले यथार्थ बिर्सेको छ
इच्छाशक्तिलाई
कार्यशक्तिले जित्नुपर्छ भन्ने बिर्सेकोछ
आफूले टेकेको धरातललाई बिर्सेको छ
मति भ्रमित छ
त्यसैले त लरखराइरहेछ बरबराइरहेछ
आफ्नो दुःखद अन्त्यलाई निम्त्याइरहेछ ।

Facebook Comments Box

Similar Posts