डा. श्यामप्रसाद न्यौपाने
(सुनवल १२, नवलपरासी)
आडम्बरबाट अङ्कुराएको सदाचार पनि देखियो मज्जाले
किन यसरी सम्मान भइरहेछ तारन्तार पनि देखियो मज्जाले
भन्न त मेरा लागि सबै बराबर भन्थे उनले हृदय खोलेर तर
भगवान् ठानिएकाको शकुनी व्यवहार पनि देखियो मज्जाले ।
सुटबुट लाउँदैमा भलाद्मीमा गनिन्छ; तिमीलाई कसले भन्यो
चर्को बोल्नेलाई जान्नेबुझ्ने भनिन्छ; तिमीलाई कसले भन्यो
असल बन्न त चरित्र निकै सुकिलो पो बनाउनुपर्छ महोदय
गेरूवा लाउँदैमा वाल्मीकि बनिन्छ; तिमीलाई कसले भन्यो ?
स्यालले सिनो लुछेझैँ देश लुछ्ने तमाम रहेछन्
कीर्नाले खुन चुसेझैँ मुलुक चुस्ने तमाम रहेछन्
हिंस्रक बाघले झैँ कोपरेर निरीह जनतालाई
पछि कठै ! भन्दै तिनकै आँसु पुछ्ने तमाम रहेछन् ।
नानाथरी विचारको ऊहापोह किन होला
आफ्नै विचारसँग विद्रुप विद्रोह किन होला
भौतिकतामै सबै थोक देख्नेहरुलाई पनि
जाबो गेरूवाप्रति अति मोह किन होला ?
साँध मिचेर के गर्नु आफ्नै दुर्गुण मिच्नै सकिँदैन भने
तन सिँचेर के गर्नु करूणाले जगत् सिँच्नै सकिँदैन भने
ए ! सिकन्दर बन्ने सपना देखेर अघि बढेकाहरु हो
संसार जितेर के गर्नु आफैलाई जित्न सकिँदैन भने ।