त्रिभुवनचन्द्र वाग्ले
विरुप आकाशमा अनुहार खोजेर
बादलको अमूर्त चित्रमा
हृदयले बास बस्यो, गुँड भेट्यो ।
बादलको जन्मदिन
प्रस्रवमा आमा रून्छिन्
जन्मदिनको गीत गाइयो
आमाको गीतमा लय भरिएन
बाँसुरीमा आमाका गीत बजेनन् ।
गीत आमाको गाउनु थियो
गाइयो जन्मदिनको
आमा र जन्मदिन
‘झरीमा रूझ्छे गौँथली
काँप्छे जाडोले
रून्छे पीडाले
मुसुक्क हाँस्छे
घरको नक्सामा
एक चुच्चो माटोमा
गौँथलीका आमा–सपना
जन्मन्छन् सुन्दर घर’
आजै हो बादलको जन्मदिन !
माटोमा मन घोलेर
कालीगढले उठाउँछ आकाश
उडाउँछ आमाका चङ्गा सपना
गर्भवती आकाशमुन्तिर
घुरानमा गौँथलीले
सपनाको तान लगाई
‘गौँथलीको पखेटा–
मैले चन्द्रसूर्य झन्डाको पूजा गरेको छु’
सपनाका बुट्टा काटेर
माटोमा, हिलोमा
पौरखको घाम उदाउँछ
आमाको आङमा एकधरो घाम उदाउँछ
एकपसार चन्द्रमा हाँस्छ ।
गीत आमाको गाउनु थियो
चुच्चोमा सृष्टिको माटो पग्लन्छ
आमाको अनुहारमा
गौँथलीको गुँड हाँसेको छ
बादलको जन्मदिनमा
मेघले सङ्गीत भर्छ
आमा गौँथली
माटोमा मन जोड्छे
र बादलको जन्मदिन गाउँछे ।