दीपक लोहनी
(कुरिलो घर, काठमाडौँ)

भ्रष्टाचार संवादमा थियो ।
संवादमा थिए –
पुलिस, प्रशासक,
नेता, पत्रकार, समाजसेवी, गुन्डा र स्वयम् भ्रष्टाचार ।
संवादमा –
सुराको सुगन्ध,
सुन्दरीको रुप,
सङ्गीतको तरङ्ग,
अनि, स्फटिकमा ठोक्किएर निस्किएको झल्झलाकार प्रकाश;
सब व्यवस्थित थिए ।
अझै व्यवस्थित थिए –
बसाइ, बोलाइ र हेराइहरु ।
यतिकैमा पत्रकारले आफ्नो धर्म निर्वाह गर्दै मजाकमा सोघ्यो –
‘तपाईलाई कसैको डर पनि लाग्छ कि, महोदय ?’
‘लाग्छ । गजबै डर लाग्छ ।’ भ्रष्टाचारले यथार्य बोल्यो ।
‘कसको ?’
पुलिस, प्रशासक, नेता, पत्रकार, समाजसेवी र गुन्डा सबैले आश्चर्यका साथ एकैमुखमा सोधे ।
भ्रष्टाचारले विनीत स्वरमा भन्यो –
‘इमानदारको ।’

(विलोम लघुकथामा एक नवीन शैली हो ।)

Facebook Comments Box

Similar Posts