• ठाकुर बेलवासे

आफ्नै आँसुको भेलमा डुब्दै
आफन्तहरुको मुटुबाट झरेको पहिरोमा बग्दै
चल्लाहरु गुँडमा छोडेर
चारो खोज्न उडेको घुमन्ते चरोजस्तो
बाँच्नका लागि बिदेसिएको
जवान देश
विदेशमै मरेको खवर छ !
यता
आँखा नदेख्ने
कान नसुन्ने
हातखुट्टाले आफ्नो लय गुमाएर
सिंगो शरीर भित्तेघडीको लंगुरजस्तो बनेको
बुढो देश
सरकारले भत्ता खोसेको
समाचारले मस्तिष्कघातबाट
अचेत पल्टिएको छ !

विदेश जान नसकेर
देश नबनेका
बाँच्न श्रापित केही मानिसका अगाडि
ठिङ्ग उभिएका दारानड्ग्रामा धार लगाइरहेका छन्
जंगलका हिस्रक भोका जनावरजस्ता
नेताहरु !

पहिरोमा बग्दै गरेको फूलबारीजस्तो
देश हेरेर
ससाना केटाकेटीहरु
बेसुरको हाँसो हाँस्दाहाँस्दै
कहालिएका छन् !
नागरिकता बनाउन नसकेर
पासपोर्ट बनाउने खर्च रिन नपाएर
बैँसमै दीर्घरोगले शरीर
धमिराले खाएको काठजस्तो बनेपछि
परदेशले अस्वीकार गरेर
सिंगो देश बिदेसिनबाट जोगिएको !

मिल्ने भए
सायद
यो देशको भूगोल पनि
पुगिसकेको हुने थियो,
विदेश !
र त्यागिसकेको हुने थियो
गलपासो जस्तो बनेको नागरिकता !

Facebook Comments Box

Similar Posts