प्रेमिला राई

यही नदीमा बगाइएको छ
अनेकन् इतिहास
यही नदीमा बाँचिरहेछ
अनेकन् इतिहास
यो नदी तरेर जानेहरु
नफर्किएको इतिहास छ
यो नदी ढोगेर जानेहरु
नफर्किएको इतिहास छ
पोहोर साल
यही नदी भएर उडेका एक हुल बकुल्लाहरु
अहिलेसम्म फर्केका छैनन्
निक्कै सालअघि
यही नदी भएर गएका हुलका हुल माछाहरु
बर्सौं बितिसक्दा पनि फर्केका छैनन्
नदी पछ्याउँदै गएका माहुरीहरु
याम फर्कियो
आयाम, ऋतु बदलियो
साल फेरियो
तर अहिलेसम्म फिरेका छैनन्
मरेर जानेहरुले
यही नदीमा छोडेका छन्
आफ्ना अन्तिम निसानी
जिउनेहरुले
लेखेका छन् जीवनको दस्ताबेज
यही नदी भएर बगेका छन्
अनेक सपनाहरु
यही नदीमा डुबेका छन्
अनगिन्ती रहरहरु
यो नदीलाई
कसैले प्रेमको प्रतिबिम्ब ठानेर
फूल चढाउँछन्
कसैले ईश्वर ठानेर ढोग्छन्
कसैले थुक्छन्
यो नदीमा बेहिसाब बगेर गए दुःखहरु
बेहिसाब मिसिएर गए रगत पसिना र आँसुहरु
दुःखहरुको भँगालो फुटेर जान्छ
सुखको त्रिवेणी भेटेर जान्छ नदी
कहिले बिरक्तै रून्छ
कहिले उन्मादै हाँस्छ
ऊ बर्बराउँछ आफै
ऊ गड्गडाउँछ आफै
कहिलेकाहीँ मात्तिन्छ ऊ पनि
कहिले मात्छ ऊ पनि
ऊ मात्तिएको समय
ऊ मातेको समय
ऊ रिसाएको याम
नदी बडो खतरनाक हुन्छ
नदी इतिहास हो
नदी वर्तमान हो
नदी एउटा बिम्ब हो
समय हो
युग हो
साक्षी हो
जीवन हो
यथार्थ हो
नदी वर्तमान हो

यसर्थ
कुनै पनि समय
कुनै पनि याम
नदी तरेर जानेहरु
नदीमा हराएकाहरु
यही नदीले फर्काएर ल्याइदिन सक्छ
उसबेला इतिहास बदलिने छ
हजारौँ ढोङहरु च्यातिएर
लेखिने छ अर्को दस्ताबेज ।

 

Facebook Comments Box

Similar Posts