• श्रीश पौडेल

केही समयसम्म
केही भनुँ तिमीलाई
भनी बसेको थिएँ

वाक्य पछाडिको
पूर्णविराम बाँकी भएजस्तै

केही समयपछि
‘भन्नु’को अर्थ भेटिएन
किन कुन्नि, तिमीसँगको
पल सम्झिँदा
तिमीलाई देखिनँ

एक्लै रहेछु म त्यतिखेर पनि
तिमी मात्रै छायाँ रहेछ्यौ
मेरो पवित्र आत्माको
मेरो निर्दोष,
मेरो सोझो, शालीन,
शीतल आत्माको —
मेरो निश्चल मासुम आत्माको

त्यो समयलाई यो समय दिएर
सम्झिन्छु — समय गएको
पत्तै अझै पनि पाउँदिनँ

म तिमीलाई माफ गर्न सक्दिनँ
माफ गरेँ भने,
आफूलाई माफ गर्न सक्दिनँ
सबै कुरा सफा गर्न सक्दिनँ
हाम्रा हिसाबहरु राफ्साफ गर्न सक्दिनँ

माफी नदिई तिमीलाई,
बिर्सूं कसरी म ?
म यहीँ अड्किएको छु कि
मुखले भन्छु —
तिमीले झैँ
बाचा गर्छु
दावा गर्छु

मलाई अब फरक पर्दैन भनेर,
मेरो घडीको सुई
अड्किएको छैन भनेर

तिमी छायाँ रहेछ्यौ
मेरो मुटुको न्यानो रापको
केवल धुवाँ रहेछ्यौ

तिम्रो बोलीलाई
मेरो मनले सङ्गीत बनाएको थियो
तिम्रो काँधलाई
मेरो संसारले सिरानी बनाएको थियो
तिम्रो हात
मेरो हातको हात थियो
तिम्रो साथ
मेरो आत्माको चौतारी थियो

जे थियो, मेरो थियो
जे थियो, मेरो थियो

अब म, मेरो छु
म, मेरो छु

तिम्रो नराम्रो होस्
भनेँ होला,
रिसमा मुर्मुरिएर
कति दिन रोएँ तिमीलाई
स्मृतिबाट बगाउन
कति रात भोकै बसेँ
तिमीलाई सम्झने शक्ति गुमाउन

तर ती पलहरु सम्झिँदा —
अब तिमी छैनौ
जसरी यो कविताभित्र तिमी आएका छौ
तर तिमी छैनौ

केवल म छु
मेरो जिन्दगीमा पनि अब
म छु
मस्त छु
म, म स्थः छु ।

Facebook Comments Box

Similar Posts