मन्जु शर्मा
अनन्त कुहिरोले छोपेको, धुपी घारीले सजिएको
घुमाउरो बाटोमा छकछके धुवाँ उडाउँथ्यो…
सुन्दर र पावन भूमिमा उषासितै सूर्य रमाउँथे…
धर्तीले खुसीयाली छर्दै … चाँप–गुराँस फुलाउँथिन्…
चौतारीको वरपिपलमा कोइली मिठो भाका गाउँथिन्
अब त त्यहाँ लाटोकोसेरो मात्रै टुलुटुलु हेरिरहन्छ…
स्याल र फ्याउराहरुले पल पल अनिकाल जगाउँछ…
आज एउटा लङ्का होइन अयोध्या जल्दै छ…
सपनाहरु चकनाचुर बन्दै…
भयङ्कर अनि विकराल रुप लिएर … रक्तपिपासुहरु
वरिपरि घुम्दै छन् सल्बलाउँदै…
दनदन आगो सल्किरहेछ …
यो न त विद्रोह
न त नवजीवनको केवल महाविनाशको आगो
फैलिरहेछ … बिस्फोट हुँदै …
रामहरु मस्त छन् छक्कापन्जाको खेलमा…
कुनै लक्ष्य र अस्तित्वविहीन…
सीताहरु मुन्डन गर्छन्,
व्रत राख्छन् रावण पाउनलाई
हनुमानहरु गदा होइन सोमरस बोक्दै छन्…
माकुरी जालमा फसाउन…
घर घरमा आफ्नो घडेरी लिलामीको पर्चा बाँडिन्छ…
सुग्रीव, विभीषणहरु लस्कर लागेर नारा लाउँदै छन्
बास, गाँस र कपास दिलाउने आश्वासन दिँदै छन्
सीताहरुको एक हुल बन्दी छन् सुपर्णखाको कैदमा
लक्षमणहरु … पाउ धुन्छन् … पूजा गर्छन् … उनै देवी
सुपर्णखाकै…
राम–रावण विभेद छैन … लक्ष्य एउटै छ…
भण्डार खनेर रित्तै पारेर भए ‘नि उनीहरुको
आँगन भरिरहोस्…
सीता लुटिए लुटिउन्…
भाइ भाइ काटिए काटिउन्…
कुम्भकर्णहरु भने आज ‘नि उस्तै
सुतेको सुतेकै छन् जिउँदै लास बनेर…
दशरथ चुपचाप शान्त तमासा हेरिरहन्छन्…
उनलाई राम चाहिन्न…
उनलाई श्रवणकुमार ‘नि चाहिन्न…
उनलाई एउटा अवसरवादी बन्दुक चाहिन्छ
जुन आवाज विहीन होस्
त्यसको आडमा
सबै अयोध्यामा राज गर्ने उनको मिठो कल्पना छ…