आई.पी. अधिकारी

एउटी जल्दीबल्दी अभिनेत्रीको जन्मदिनको भव्य पार्टी थियो ! तारे होटलमा भएको सो पार्टीमा काँचको पर्दा र सेतो पर्दाका मात्र होइन राजनीतिक पर्दाका समेत केही ‘गन्यमान्य’ जोडीहरुको जमघट थियो । कोही ह्विस्कीको चुस्की लिँदै थिए भने कोहीचाहिँ बियर चियर्स गर्दै थिए । निम्तालुहरुको भिडमा विक्रमध्वज पनि पत्नी उषासहित उपस्थित भयो ।

पाहुनाहरु आउने क्रममा अलि ढिलो गरी एउटी युवती पनि हाइहेल्लो गर्दै आकर्षक पहिरनमा त्यहाँ टुप्लुक्क आइपुगी ।

अब धेरैको दृष्टि खानपिनमा भन्दा पनि ती युवतीको पहिरनमा केन्द्रित हुन थाल्यो । विक्रमध्वज पनि यसको अपवाद भएन । ‘अहा, क्या सेक्सी ! जिउमै टिपिक्क टाँसिएझैँ देखिने फूलबुट्टाहरु !’ विक्रमध्वजले मनमनै लोभिँदै भन्यो । अनि श्रीमतीसँग भन्यो, ‘उषा, हेर त कस्तो मोडर्न अनि बोल्ड खालको पहिरन !’

‘छिः छिः !’ श्रीमती उषाले नाक खुम्च्याउँदै प्रतिक्रिया जनाइन् । त्यसपछि उनी एकछिन साथीसँग कतै अलमलिइन् । उता विक्रमध्वजको आँखाचाहिँ छिन छिनमा मौका खोज्दै त्यही युवतीमा पुगेर अडिन्थ्यो । श्रीमती फर्केर आउँदा विक्रमध्वज छड्के परेर पटक पटक त्यही युवतीलाई चियाउँदै एकोहोरो हेर्दै गरेको देखिन् । विक्रमध्वजलाई सजग गराउन श्रीमतीले चिमोटिदिइन् ।

‘हन, के हो तपाईं अघिदेखि त्यो केटीको जिउ क्वारक्वार्ती हेरिरहनुभएको, लाज लाग्दैन ?’ श्रीमतीले सचेत गराइन् । विक्रमध्वज श्रीमती रिसाइन् कि भनेर डराएझैँ देखियो ।

उनीहरु एकछिन अरु नै केही कुरामा भुले । खानपिन सकिएलगत्तै आयोजकसँग बिदाबारी भएर निस्के ।

‘हाउ ब्युटिफुल, हाउ एलिगेन्ट ड्रेस !’ विक्रमध्वजले होटलको गेटबाट निस्कनासाथ भन्यो । उसको मनमा अझै त्यही युवतीको शरीर नाचिरहेको थियो ।

‘हन फेरि त्यही केटीलाई सम्झन थाल्यौ कि कसो ? त्यो तिम्रो दृष्टिभ्रम थियो । वास्तवमा तिनी लगभग नाङ्गी थिइन् !’ श्रीमती उषाले रहस्य खोलिन् ।

‘हँ ?…’ विक्रमध्वज स्तब्ध भयो र टक्क अडियो । उसको मन फेरि पार्टीमा रमाएकी त्यही युवतीको शरीरमा पुगेर अडियो र टाउको फर्कायो ।

यतिकैमा उनकी श्रीमती उषाले बम्कँदै वास्तविकता खुलाइन्, ‘हन फेरि क्या हो चाला यस्तो ? पार्टीस्थलमा गएर फेरि पनि त्यो केटीको शरीर हेराँै जस्तो पो ग¥यौ त ! सुन, खास कुरा के हो भने ती युवतीले आफ्नो शरीर एक कुशल चित्रकारबाट दुरूस्तै कपडा लगाएको जस्तो देखिने गरी मोडर्न पेन्ट गराएर छपक्कै छोपेकी थिइन्, बुझ्यौ !

Facebook Comments Box

Similar Posts