पेशल आचार्य
अर्तीकोअन्तर
जिजुहरु ३ बजे उठ्थे । सञ्जे भन्थे । पाञ्चायन पूजा गर्थे । चोखोनितो गर्थे । जाँडरक्सी केही खाँदैनथे । तिनीहरु बाबुलाई अर्ती दिन्थे, ‘कुलधर्म नछोड्नू ।’
बाबुहरु ६ बजे उठ्ने भए । प्रातःकालीन हिँडाइ हिँड्ने । स्वःमा रमाएर बाँच्ने । साँचोलाई साँचो र झुटोलाई झुटो भन्ने । तिनीहरु पनि हामी छोरालाई अर्ती दिन्थे, ‘बाबु हो । धर्म नष्ट भइरहेको छ । बचाउनू ।’
हामी मौका परे ९ बजे उठ्छौँ । जिजु र बाबुका सबै कुरा छाडिसक्यौँ । आफ्ना नयाँ कुरा पनि समाजमा राख्न सकेनौँ । बाबुबराजुका लाज बचाउन अर्तीको पुरानो पुस्तकबाट झिकेर छोरानातिमा वितरण गर्दै छौँ, ‘नानी हो ! असल बन्दा कुल धर्म नछाडेस् । जिजु र बाबुको नाक राखेस् ।’
अर्तीको निरन्तरतालाई कायम राख्न छोराले नातिलाई दिने अर्ती कति फरक हुँदो हो । कति कुलधर्म निभाएका बारेमा रहँदो हो । यो अन्तरका बारेमा अहिल्यै चिन्तित छु ।
आधुनिक दाइजो
राम खेलावन सुनसरीको लौकहीका किसान हुन् । उनी धनी छन् । हरेक वर्ष तरकारी, फलफूल र अन्न मिलाएर ४÷५ लाखको आम्दानी गर्छन् । उनको दश जनाको बृहत् परिवार छ । उनका बाबुआमा, उनी, उनकी श्रीमती र ६ जना उनका सन्तान । उनले उमेरमा पढेनन् । मैथिली भाषामा एउटा उखान छ, ‘थोडा पढा हल से बहार, ज्यादा पढा घर से बाहर ।’
तीन जना छोरा र तीनओटी छोरीका पिता हुन् । बाबुबराजुको सबै धर्म, कुल र पितृ थामेका छन् । उनले गाई, भैँसी, बाख्रा र परेवा पालेका छन् । वर्षको एकपटक कहिले आमाबाबु त कहिले पत्नीलाई साथै लिएर तीर्थबर्त गर्छन् । गाउँलेले हेर्दा उनको जीवन सफल देखिन्छ ।
पहिले लगालग तीनटी छोरी भए उनका । त्यसपछि छोराको चाहना भयो । चौथो सन्तान छोरो भयो । चार सन्तान भएपछि घरवालीले परिवार नियोजन गरौँ नभनेकी होइन तर राम खेलावनले मानेनन् । पछि फेरि दुई छोरा भएरै छाडे । यसरी उनका ६÷६ जना सन्तान भएका हुन् ।
पाँच जनाको बिहेबारी भइसक्यो । कान्छो छोरोको बिहे हुन बाँकी छ । उनी निकै चिन्तित छन् । कान्छोले प्राविधिक लाइन समातेको छ । भनौँ न ऊ इलेक्ट्रिकल इन्जिनियर हो ।
पोहोर साल उसको बिहेको बात पश्चिम कुशाहामा भयो । जातबिरादरी मिल्ने भएकोले कुरा अघि बढाइयोतर एकाएक दहेजमा आएर कुरो अड्कियो । राम खेलावन कान्छोको दहेजमा आफूले भनेका कुरा नपु¥याई कुरो नछिन्ने अडानमा देखिए । उनले मुखै फोरेर भने ‘नगद दश लाख, उसके उपर मे कार और २० तोला सुन हैछे त जोगिन्दरके सादी करबै । नत्र नही करबै ।’
हिउँदको दिन । सबै गाउँले गुरूम्म भएर स्कुलनजिकको फलैँचामा बसेका थिए । उनको यो कुरो सुनेर । गाउँका सबै गाउँले वाल्ल परे । बिन्देसर अलि चड्का स्वभावको थियो । उसले राम खेलावनलाई माझै मुखले भनिहाल्यो, ‘हो कका, तपाईंले यति धेर दहेज माग्नुभयो कि यो सुनेर जोकोही छोरीका बाबुको त सातो उडिहाल्छ । फेरि हजुरको इन्जिनियर छोरोसँग सादीबिहे गर्नका लागि आउने कुटुम्ब पनि त उस्तै पढालिखा हुन्छ नि । पढालिखासँग दहेजको कुरा गर्नु अहिलेको जमानामा राम्रो होइन । छोरीलाई पनि पढाउन उसका बाबुको लाखौँ रूपियाँ खरच भएको हुन्छ । यो कुरा बुझिहाल्नुस् ।’
यति कुरा कानमा ठोकिएपछि राम खेलावन एक भन्नु न दुई भन्नुभए । बिन्देसरचाहिँ साइकिल चढेर इनरूवाको सोमबारे हाटतिर लाग्यो ।
उसको आवाज चारैतिर वातावरणमा छरियो । पछाडिबाट कसैले भन्दै थियो, ‘वाह बिन्देसर दाइ, तपाईं कति स्पष्ट बोल्नुहुन्छ । दजेहका विरूद्धमा यो तपाईंको लडाइँमा हामी पनि साथ छौँ ।’
गाछी से भला कोही नही
घाममा तर्तरी पसिना निकालेर कारी महतो पटुवा गोडिरहेका छन् । यो वर्ष तराईमा धेरै राम्रो पटुवा हुने लक्षण देखिएको छ ।
उनी हरेक दिन बिहानै सात बजे पटुवा हेर्न आउँछन् । उनको जलखाई नौ बजे त्यही आइपुग्छ । १ बजे मात्र उनी भात खानका लागि घर जान्छन् ।
एवम् रितले उनको दिनचर्या सुरू हुन्छ । साँझको ६ बजे उनी घर पुग्छन् ।
सिरूवा मेलाको परिवेश छ । तराईमा जुडशीतल पर्व मानेपछि धरतीपुत्रहरु सिरूवा मेलामा लाग्छन् । यो मेला खासगरी मोरङ र सुनसरीका गाउँगाउँमा रहेका सलहेस महाराज र वनदेवीका डिहीबारमा धुमधामसँग लाग्छ ।
रौनक छ मेला जाने र आउनेको । कारी दिनरात पटुवा गोडिरहेका छन् । वरिपरिका खेत बाँझा छन् । उनी मनमनै भन्छन्, ‘धरतीलाई पनि जोत्नु, खन्नु चलाउनु र माया गर्नुपर्छ अनि धरती खुसी हुन्छ । मानिस अब अल्छी हुँदै गए । खान मात्र खोजेर हुन्न ।’ उनी चुप लागेर पटुवाबारीका घाँस बाहिर फाल्दै पटुवाका बोट गोड्दै छन् । यतिकैमा उनका छिमेकी बिल्टु आइपुग्छन् ।
दुवैमा भलाकुसारी हुन्छ । ‘इम्री त आँहाके खूब निमन पटुवा अइछ ।’ (यो साल त तपाईंको धेरै राम्रो पटुवा छ ।) बिल्टु सिधासिधा भन्छन् ।
जबाफमा कारी भन्छन्, ‘अप्नार के खेतीके तौरतरिका और मिहिनेतके भरमै ऐठिन पटुवा भैलेई ।’ (हाम्रो खेतीको तरिका र मिहिनेतकै भरमा त यस्तो पटुवा भएको नि ।)
बिल्टु फेरि भन्छन्, ‘आँहाके हाथमे मल अैछ । आँहा के घरबारीऔ मे निमन निमन गाछी छे । रूखपाइत आँहाके खुब मन परेइछ । ये बानी हम्रो निक लागेचछ् ।’
‘गाउँले सब कुछो न कुरा बझेचछ् । खेतबारी अ घरबारीके गहना छेई गाछी ।हम सब मिलके हरियाली पार परैत बुझलियने । यह दुनियाँमे गाछी सब बिमारकेइ उपचार हैचछ गाछी से भला केही नही ।’ (गाउँले सबै केही कुरा बुझ्दैनन् । खेतबारी र घरबारीका गहना भनेकै गाछी हुन् । हामी सबै मिलेर हाम्रो घरबारी र खेतबारीलाई हरियाली पार्नुपर्छ । रूखले सबै प्रकारको बिमारलाई भगाउँछ । रूखले सबै प्रकारको सुख दिन्छ ।)
कारीको वृक्षदर्शन सुनेर बिल्टुको मनमा पनि पाँचसात सय विभिन्न जातका रूख रोपेर हरियाली पार्ने विचार आयो । फुर्तीसाथ उठेर घरतिर लागे । कारीले उनी गएको एकटक लाएर हेरिरहे ।